आज वैशाख १२ गते। अर्थात भूकम्प गएको दिन।
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पले ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने भने २२ हजार ३०९ घाइते भएका थिए।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो।
यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो। तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ।
गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो। यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए।
गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन्। छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन्।
हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार बुझेका छन्। सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत एक लाख लिएका छन्। घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको एक लाख ५० हजार लिएका छन्। चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ।
भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ। १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ। क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ। २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन्।
भूकम्पले क्षतिग्रस्त कूल एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ। २९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ।
क्षति पुगेका कूल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ। प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ।
भूकम्प प्रभावित विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५२५ किमी सडक बनेको छ। बाँकी सडकको पुनःनिर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।