बलात्कारको 'झुटो जाहेरी' मा जेल : उजुरी नै घट्ने जोखिम !

हिमाल खबर

काठमाडौँ

तुफान न्यौपाने 

दाङको घोराहीस्थित एक होटलमा आफूहरूलाई सामूहिक बलात्कार गरेको भन्दै स्थानीय एक महिला र एक बालिकाले तीन जना युवाविरुद्ध १९ असोज २०७७ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। उजुरी दर्ता गरेपछि प्रहरीले घटनाको अनुसन्धान थाल्दै आरोपित तीनै जनालाई पक्राउ गरी हिरासतमा राख्यो। उनीहरूले सामूहिक बलात्कार नै गरेको ठहरसहित सरकारी वकीलसँगको परामर्शपछि दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो।

प्रारम्भिक सुनुवाइमा त्यतिबेलासम्म प्राप्त प्रमाणको मूल्यांकन गर्दा, ती तीन जना युवा दोषी देखिएको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठायो। तर, मुद्दाको थप सुनुवाइ हुँदै जाँदा उनीहरूलाई आरोप लगाउने महिलाले अदालतमा बयान फेरिन्।

जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीका अनुसार, पीडित भनिएकी महिलाले अदालतमा आफूहरू बलात्कृत नभएको, होटलमा खाजा खाने क्रममा भनाभन भएपछि ती युवालाई सताउने उद्देश्यले झुटो आरोप लगाएको बयान दिइन्। पीडितले नै त्यसरी बयान फेरेपछि अदालतले उनलाई जेल सजाय र आरोप लगाइएका व्यक्तिहरूलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्‍यो। स्रेस्तेदार गिरीका अनुसार, २३ चैत २०७७ मा जिल्ला न्यायाधीश रितेन्द्र थापाले एक महीना कैद र तीन युवालाई रू. २५ हजारका दरले रू. ७५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेका हुन्।

अदालतको समय बर्बाद गरेको, राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको भन्दै न्यायाधीश थापाले फैसला गरेलगत्तै प्रहरीले ती युवती (संकेत नम्बर ५६ (२०७६/०७७) १४१) लाई पक्राउ गरी कारागार पठाएको छ। आरोप लगाउने अर्की बालिका भएकाले (१८ वर्ष नपुगेकी) कुनै कारबाही भएन।
 

प्रकाशित मिति: : 2021-04-23 20:53:00

प्रतिकृया दिनुहोस्