युवराज घिमिरे
एउटा ठूलो अवसर जन्मेको थियो वैशाख ११, २०६३ का दिन। नेपालका आठ शीर्ष नेताहरूले ठाउँ–ठाउँमा हातेसाङ्लो माथि उठाउँदै जनताका भीडलाई स्पष्ट सन्देश दिने गर्थे, ‘अब हामी भ्रष्टाचार गर्दैनौँ।’ नेपाललाई सुशासन, शान्ति, राजनीतिक स्थायित्व, सदृढ लोकतन्त्र र आर्थिक समृद्धि दिने घोषणा उनीहरूले पटक–पटक गरेका थिए, त्यसपछि।
ती नेतामध्ये गिरिजाप्रसाद कोइरालाबाहेक सबै जिउँदै छन्। तर, उनीहरूको वचनको वजन मरिसकेको छ। जनता माझ उनीहरूको विश्वसनीयता र नेताहरू साँचो बोल्छन्, सच्चिन्छन् र बोलेको कुरा पूरा गर्छन् भनी त्यसबेला पलाएको आश पनि मरेको छ।
त्यसपछि नेपालमा सबैभन्दा नराम्ररी गुमेको ‘पुँजी’ नै हो राजनीतिक नेतृत्वप्रति आमजनताको विश्वसनीयता। १५ वर्षमा जनताले धोखा मात्र पाए। नेताहरू कानुनभन्दा माथिको एउटा वर्ग बने। राज्यका महत्वपूर्ण राजनीतिक, कूटनीतिक र संवैधानिक पद दलीय र ठूला नेताको भागबन्डामा परे। ‘मेरिट’ र मुलुकको आवश्यकताको अर्थ रहेन।