सिंगो नेपाललाई नेपालगन्जको सन्देश

रुघाखोकीसँगै ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने भएपछि बर्दियाको मधुवन नगरपालिका– ५ तारातालका तुलबहादुर गुरुङदम्पतीले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । बिहीबार मोबाइलमा संक्रमण रहेको रिपोर्ट आएपछि उनीहरू साँझ ७ बजे हतारिँदै नेपालगन्जस्थित भेरी अस्पताल पुगे । तर, राति ११ बजेसम्म बेड पाएनन् । 

अस्पताल पुगेपछि उनीहरूले बेडका लागि चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गरे । तैपनि व्यवस्था हुन सकेन । किनभने, संक्रमितले अस्पतालका बेड भरिएका छन् । आइसोेलेसन कक्षबाहिर राखिएको बेडमा पत्नीसहित बसेका गुरुङले नयाँ पत्रिकासँग भने, ‘सास फेर्न गाह्रो भइरहेको छ । लौन सर सक्नुहुन्छ भने बेड मिलाइदिनुपर्यो । हामीलाई गाह्रो हुन थालेको छ ।’ बेड कुर्दै उनीहरू राति ११ बजेसम्म आइसोलेसन कक्ष बाहिरै थिए । 

बर्दियाकै बारबर्दिया नगरपालिकाकी सिर्जना गिरी सुवेदीले तीन घन्टाको पर्खाइपछि बल्ल आइसोलेसनमा बेड पाइन् । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । बेड नपाएरै बितिन्छ कि भन्ने भइसकेको थियो, बल्लबल्ल पाइयो,’ सुवेदीका आफन्त सौरभ गिरीले भने । 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बिरामीले बेड भरिएको बताए । उनका अनुसार आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार भइरहेको छ । ‘आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । अब जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने । 

प्रकाशित मिति: : 2021-04-23 07:00:00

प्रतिकृया दिनुहोस्