'श्वास' सकिएको राजधानी दिल्ली

पहिलोपोष्ट

काठमाडौँ

अस्पतालभित्र बिरामीको चाप, बाहिर पनि बिरामीको भीड उस्तै। केही समयको अन्तरालमै एम्बुलेन्सको साइरन बज्दै अस्पताल पुग्छ, बिरामी ओराल्छ र फेरि अर्को बिरामी लिन जान्छ। तर ती बिरामीले अस्पतालभित्र प्रवेश पाउँदैनन्। भारतको विभिन्न राज्यका अस्पतालको अवस्था यस्तै छ। अझै राजधानी नयाँ दिल्लीको 'हेल्थ सिस्टम' पूरै अस्तव्यस्त भइसकेको छ। कारण - कोभिड १९।

अस्पतालमा एउटा बेडमा दुई तीन जना कोरोना संक्रमित बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ। अस्पताल बाहिर कुर्दाकुर्दै बिरामीहरुको मृत्यु भइरहेको छ।  

करिब दुई महिनायता कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बिहीबार भारतमा एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भयो। यो विश्वमै हालसम्म एकैदिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो। यस्तै, दैनिक २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

यसरी मृत्यु हुनेहरुमा धेरै जनाले अक्सिजन पाउन सकेका थिएनन्। राजधानी नयाँ दिल्लीका प्रायः सबै अस्पतालहरुमा अक्सिजनको अभाव छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा केहीदिनदेखि अक्सिजनको संकट रहेको स्वीकार गरिसकेका छन्। स्थानीय मिडियाहरुले राजधानी नयाँ दिल्लीमा 'श्वास' सकिएको र अक्सिजनको आपूर्ति नभए उपचार नपाउँदै धेरैको मृत्यु हुने सम्भावना रहेको उल्लेख गरेका छन्।  एक अध्ययनका अनुसार दिल्लीमा प्रत्येक ३ जनामध्ये १ जनामा कोभिड १९ संक्रमण भएको देखिएको छ।

प्रकाशित मिति: : 2021-04-22 21:36:00

प्रतिकृया दिनुहोस्