नेपालगञ्जको दृश्य : वेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

अनलाइनखबर

काठमाडौँ

‘अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नु पर्ने हाम्रो बाध्यता छ ।’ 

भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ । 

हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये धेरै होम आइसोलेनसमा छन् भने कतिपयलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छन् । तर अस्पतालहरुमा बेड पाइन छाडेको छ । तत्काल अक्सिजन सपोर्ट दिएर उपचार गराउनुपर्ने कोरोना संक्रमितहरु समेत कहिले बेड खाली होला भनेर अस्पताल बाहिर कुरिरहेका छन् ।

बाँकेमा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । दुवै अस्पताल संक्रमित बिरामीले भरिएका छन् । गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई राखेर उपचार गराउने बेड अभावका कारण बिरामीहरुले पालो कुरेर उपचार गराउनुपर्ने अवस्था आएको बाँकेका फोकल पर्सन तेज ओलीले अनलाइनखबरलाई बताए ।

भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार होम आइसोलेसनमा बसेकाहरु स्वास्थ्यमा समस्या आएपछि र अन्य अस्पतालबाट रिफर भएर आउने बिरामीको संख्या एकसाता यता बढ्दो छ । ‘अस्पतालमा रहेका बिरामीको अवस्था र उपचार गराउन आउनुभएका बिरामीको अवस्था उस्तै देखिन्छ’ शर्माले भनिन्, ‘कसलाई राख्ने कसलाई नराख्ने भन्ने समस्या हुन्छ ।’

उनले अघि भनिन्, ‘अस्पताल आइसकेका बिरामीलाई हामीलाई फर्काएका छैनौं । अन्य ठाउँको बेड तानेर भएपनि जसोतसो उपचार गरिरहेका छौं । यसरी उपचार गर्दा बिरामीलाई असहज महसुस भएको त अवश्य  हुनसक्छ । तैपनि यसरी उपचार गर्नुको विकल्प हामीसँग छैन ।’

एकसाता यता दैनिकजसो उपचार गराउन आएका बिरामीहरुले अस्पतालको गेटमा पालो कुरेर बस्नुपर्ने अवस्था आएको उनले बताइन् । शर्माका अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि १०२ र शंकास्पद बिरामी राख्नका लागि ४० वटा बेड छुट्याइएको भएपनि कोरोना पुष्टि भएका बिरामी बढी देखिएपछि सबैजसो बेडमा संक्रमित बिरामी राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2021-04-22 21:29:00

प्रतिकृया दिनुहोस्