सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङक्रमित दुई जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट सङ्क्रमित बझाङ जिल्लाका ४८ वर्षीय पुरुष र अछाम जिल्लाका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।
मृतक दुवै जनाको एन्टिजेन परीक्षण गर्दा कारोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो। निर्देशनालयको तथ्याङ्कका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ।
भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमणदर पछिल्ला दिनमा उकालो लागेको छ। भारतबाट फर्किनेमा सङ्क्रमण बढी देखिएको जनाइएको छ।