लाप्राकको नयाँबस्ती तयार, राष्ट्रपतिले स्थानीयलाई घर हस्तान्तरण गर्ने (१३ तस्वीर)

२०७२ सालको भूकम्पले ध्वस्त पारेको गोरखाको ऐतिहासिक गुरुङ बस्तीलाई नयाँ ठाउँमा स्थानान्तरणको तयारी पूरा भएको छ।

लाप्राकीका लागि गुप्सीपाखामा गैरआवसीय नेपाली संघ (एनआरएन) ले निर्माण गरेको एकीकृत वस्तीको निर्माण पूरा भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उक्त वस्ती स्थानीयलाई बैशाख ९ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। धार्चे गाउँपालिका वार्ड नं. ४ को गुप्सी पाखामा एकै किसिमका पाँच सय ७३ वटा घरहरु निर्माण भएका छन्। उक्त घर एनआरएनले उपहारको रुपमा निर्माण गरिदिएको हो।

समुद्र सतहदेखि २७५० मीटर उचाइमा अवस्थित उक्त बस्ती २०७३ फागुनमा निर्माण सुरु गरिएको थियो। भूकम्पले ध्वस्त पुरानो लाप्राक बस्तीको भौगोलिक हिसाबले कमजोर र पहिरोको जोखिमका कारण त्यही ठाउँमा पुनर्निर्माण गरी बस्नु अनुपयुक्त भएपछि गुप्सीपाखामा पुनर्निर्माण गरिएको हो।

गुप्सीपाखा लाप्राकीको पुरानो भेंडीगोठ र चरनक्षेत्र हो। सरकारले बस्तीको लागि उपयुक्त ठाउँको रुपमा गुप्सीपाखालाई घरनिर्माण गर्न जग्गा उपलब्ध गराएको हो। बस्ती बनाउन आर्थिक सहयोग चाहिँ एनआरएनले गरेको थियो। गिट्टी, वालुवा–ढुंगा, काठ र श्रमदान स्थानीयले व्यवस्था गरेका थिए। दुईकोठे भवनमा टाँडी, कौसी छ।

घरको बाहिरपट्टि शौंचालय निर्माण गरिएको छ। प्रत्येक घर ३ आना २५ पैसा क्षेत्रफलमा बनेको छ। लाप्राक गोरखाको गुरुङ समुदायको ऐतिहासिक बसोवास थलो हो। भूकम्पको केन्द्रबिन्दु बारपाकबाट करिब १२ किलोमीटरको दूरीमा पर्ने लाप्राकलाई पनि २०७२ सालको भूकम्पले सम्पूर्ण रूपमा ध्वस्त बनाएको थियो, जसमा परी २४ जना लाप्राकीले ज्यान गुमाएका थिए।

छ वर्षअघिको त्यो कहालीलाग्दो घटना सम्झँदै धार्चे गाउँपालिका-४ का वडा अध्यक्ष राज गुरुङले भने, '१० जना घरभित्र, आठ जना भीरमा, लाङताङ ट्रेकिङ क्षेत्रमा तीन जना, सगरमाथा क्षेत्रमा एक र मनास्लुमा एक जनाको निधन भएको थियो।'


धार्चे गाउँपालिका-४ का वडा अध्यक्ष राज गुरुङ

नवनिर्मित बस्ती कुल १८.३२ हेक्टरमा फैलिएको छ। लाप्राकीको मुख्य पेशा कृषि हो। केही लाहुरे र वैदेशिक रोजगारी गएका पनि छन्। केही स्थानीय पर्यटन क्षेत्रमा ट्रेकिङ गाइड र हिमाल आरोहीका रुपमा पनि पनि कार्यरत छन्।

उक्त बस्तीका पाँच सय ७३ घरधुरी तयार भइसकेको छन् भने छुटेका ५९ घरमध्ये २४ वटा गुप्सीपाखामा धमाधम निर्माण भइरहेको छ। वडा– ४ का अध्यक्ष गुरुङले बाँकीका लागि अन्यत्र बनाइरहेको समेत बिएल नेपाली सेवालाई जानकारी दिए।

गत साता पंक्तिकार गुप्सीपाखा पुग्दा नवदम्पती मानबहादुर गुरुङ र विमला गुरुङको नयाँ घरमा खाना पकाउँदै थिए। उनीहरु त्यहाँ सरेको १५ दिन मात्रै भएको बताएका थिए। मंसिर–पुसतिर हिउँ पर्ने हुनाले असाध्यै जाडो हुने र बस्न निकै कठिन हुने उनले जानकारी दिए। गुरुङ समुदाय परम्परागत हिसाबले झुरुप्प बस्तीमा बस्ने गर्छन्। करेसाबारीमा तरकारी रोप्छन्। बस्तुभाउ र भेंडा पाल्छन्। त्यसैले साँघुरो जग्गामा बनाएको घरमा सर्न अधिकांश स्थानीय त्यति उत्साहित छैनन्। त्यसको कारण घर निर्माण गर्दा स्थानीयसँग छलफल नगर्नु, करेसाबारी र गोठको अभाव हुनु हो।

समुद्री सतहबाट २७५० मिटरमा अवस्थित गुप्सीपाखा मंसिर-पुस महिनामा हिउँ पर्ने हुनाले अत्यन्त चीसो हुन्छ। त्यही कारण पनि नयाँबस्तीमा सर्ने केहि ढिलाइ भएको बताए। केही स्थानीयहरु भने प्लास्टिकको झ्याल–ढोका कमजोर हुनु, सिमेण्टको ब्लक चीसो हुनु कारण भएको बताउँछन्।

गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ (सन्तोष)ले विश्वभरि छरिएर बसेका नेपालीहरुको उपहारको रुपमा बस्ती निर्माण गरिदिएकोमा आभार व्यक्त गरेका छन्। उनले नयाँबस्तीलाई पर्यटकीय 'हब' बनाउने योजना पनि सुनाए। भविष्यमा एनआरएन भिलेज (लाप्राकको नमूना बस्ती) मा नमूना सामुदायिक 'होम-स्टे' सञ्चालन गर्नेलगायत 'जीप लाइन' निर्माण गरिने पनि उनले बताए।

धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ

बस्ती बनाउने क्रममा केही कमी–कमजोरी रहेकोलाइ व्यवस्थापन गर्दै लैजाने समेत बताए। एकीकृत बस्तीलाई चैत ८ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्तान्तरण कार्यक्रमरहेको समेत गाउँपालिकाले जानकारी दिएको छ।

पृथ्वी राजमार्गको आँबुखैरेनीबाट गोरखा बजार जाने सडकको बाह्रकिलोबाट बारपाक हुँदै लाप्राक नयाँबस्ती पुगिन्छ। बाह्रकिलोबाट लाप्राक लगभग ६५ किलोमिटर दूरीमा पर्दछ।

प्रकाशित मिति: : 2021-04-21 18:40:00

प्रतिकृया दिनुहोस्