कर्णालीमा ‘फ्लोर क्रस’ गर्न लगाउने नेपाल पक्षका २० जनाभन्दा बढी नेतासँग स्पष्टीकरण सोध्ने एमालेको निर्णय

साउन २५ देखि २७ मा विधान अधिवेशन

नेकपा एमालेले कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्न लगाउने नेताहरू वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत २० जनाभन्दा बढीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

'फ्लोर क्रस' गर्ने प्रकाश ज्वालासहित कर्णाली प्रदेशसभाका चार जना सदस्यलाई स्पष्टीकरण सोधेर भविष्यमा समेत अयोग्य ठहरिने गरी निष्कासन गरिने एमालेको तयारी छ।

कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गर्ने प्रकाश ज्वालासहित चार जनालाई दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको हो।

'को–कोसँग स्पष्टीकरण सोध्ने भन्ने सूची तयार हुँदैछ, यो संख्या २० भन्दा नाघ्ने छ', एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले बिएल नेपाली सेवासँग भने, 'व्यक्तिगत रुपमा स्पष्टीकरण सोधेर ह्वीप उल्लङ्घनमा कसको भूमिका के हो भन्ने बुझेपछि कस्तो निर्णय हुने भन्ने तय हुन्छ।'

बैठकले साउन २५ देखि २७ गतेसम्म राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक राख्ने पनि निर्णय गरेको छ।

एमालेको सोमबार बसेको पहिलो केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको विधान अधिवेशन मानिने राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको हो।

एमालेको विधानअनुसार राष्ट्रिय प्रतिनिधि परिषद्ले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ।

बैठकले विभाजनको बेला केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनाउने निर्णय गरेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३२ पेजको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो।

पुस ७ गतेको बैठकले ४४१ सदस्यीय तत्कालीन नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कायम गरेको थियो। अब ती सबै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरण भएका छन्।

यो निर्णयसँगै एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बैशाख १० गते बस्नेगरी स्थगित भएको छ।

प्रकाशित मिति: : 2021-04-19 17:13:00

प्रतिकृया दिनुहोस्