काठमाडौंलाई जुम्ला र मुस्ताङको स्वाद चखाउने पूर्वसांसद (भिडियाे)

शिलापत्र

काठमाडाैं

कौशल काफ्ले

‘यो जुम्लाको मार्सी चामल’ नयाँ पसल हेर्न आएका मुस्ताङका पूर्वसीडीओ रत्न पाण्डेलाई पूर्वसांसद श्रीमाया थकाली बताउँदै थिइन्, ‘अनि यो रातो मकै, खान निकै टेस्टी हुन्छ, स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।’

छेउबाट पूर्वसांसद रीता रावल थप्दै थिइन्, ‘तपाईं सीडीओ हुँदा मुस्ताङमा फलेका केही खानेकुरा छुटाउनुभएको भए चिन्ताको कोही बात छैन । हामी यहीँ ल्याएर खुवाउँछौँ ।’ 

गत शनिबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल त्यो पसलमा छिरेका थिए । ‘तपाईंहरूले त गजब गर्नुभएछ, कर्णालीका उत्पादन काठमाडौंसँग सिधै गाँसिदिनुभयो’, खनालको भनाइ सम्झँदै श्रीमायाले भनिन्, ‘नेपाली किसानले फलाएको एउटा मात्रै स्याउ, एक पाउ मात्र दाल खेर जान हुँदैन भन्ने हाम्रो ध्येय हो ।’  

पुतलीसडकस्थित स्टार मलको आडैमा रहेको घरको अण्डरग्राउण्डमा छ, दुई पूर्वसांसदसहित चार महिलाले १ वैशाखदेखि खोलेको अर्ग्यानिक पसल, जहाँ जुम्ला र मुस्ताङका स्थानीय उत्पादनहरू बेच्न राखिएको छ । सुर्खेतकी कुशुम शर्मा चालिसे र रामेछापकी सबिना बजगाईं पसलका अन्य सञ्चालका हुन् ।

जुम्ला र मुस्ताङबाट ल्याइएका कृषिउपज यही पसलमा ल्याएर प्याकिङ गर्ने गरेको पसल सञ्चालक रिताले बताइन् । पसलमा जुम्लाको मार्सी चामल, मुस्ताङको रातो मकै, फापर, जंगली मौरीको मह, सिमी, बोडी, गहतको दाल, तोरीको तेललगायत खाद्यान्न पाउन सकिन्छ । 

प्रकाशित मिति: : 2021-04-19 16:44:00

प्रतिकृया दिनुहोस्