नेपाल एसोसिएसन युएईका बोर्ड अफ डाईरेक्टर पासाङ रिन्जी शेर्पा निलम्बनमा परेका छन्।
युएईमा संचालित आईएलओ परियोजनामा भएको आर्थिक घोटालामा नाम मुछिएपछि सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नपाएपछि नेपाल एसोसिएसनले शेर्पालाई निलम्बन गरेको हो।
परियोजना संचालनका क्रममा बोर्ड अफ डाईरेक्टरसंग समन्वय नगरेको, आफुखुसी निर्णयहरु गरेको र हिसाबकिताब पारदर्शी नगरी अनियमितता गरेको विषयमा मागिएको स्पष्टीकरणमा शेर्पाले दिएको जवाफ चित्तबुझ्दो नभएको ठहर गर्दै एसोसिएसनले निलम्बन गरेको हो।
उनलाई निलम्बन गरिएको जानकारी सहित थप कार्वाहीका लागि युएईको स्थानीय निकाय सिडिए समक्ष प्रस्तुत गरिएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले आईएलओ परियोजनाका मुख्य संचालक एनआरएनए युएईका अध्यक्ष समेत रहेका नेपाल एसोसिएसनका बोर्ड अफ डाईरेक्टर तथा म्यानेजर प्रकाश कोईरालालाई यसअघि नै कार्वाही गरिसकेको छ।
एनआरएनएले समेत गर्यो कार्वाही
गैह्र आवसिय नेपाली संघ (एनआरएनए) केन्द्रिय कार्यसमितिले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) बाट युएईमा कोरोना प्रभावित नेपालीहरुको उद्दारका निम्ति प्राप्त अनुदानमा आर्थिक अनियमितता गर्ने एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई कार्वाही गरेको छ।
आइतबार बसेको गैरआवासीय नेपाली संघका केन्द्रिय पदाधिकारीहरुको भर्चुएल बैठकले एनआरएनए युएई कार्य समितिले गरेको सिफारिस अनुसार अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई उनीहरुको पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
कोरोना महामारीका बेला नेपाली श्रमिकहरुको उद्दारका निम्ति आईएलओबाट एनआरएनए युएईलाई प्राप्त रकममा अनियमितता भएको कुरा बाहिरिएपछी गठन गरिएको छानबिन समितिले दुई साता अघि ६२ हजार ७ सय दिराम (नेपाली करिब २० लाख) अनियमितता गरेको निष्कर्षसहित ८४ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।