कर्मचारीलाई गिज्याउने एउटा भ्रष्टाचार मुद्दा– नासुका ४ पत्नी, सबैलाई बंगला, घरमै डान्सबार !

लोकान्तर

काठमाडाैं

अजय अनुरागी

नेपालका सरकारी कार्यालयहरू कसरी भ्रष्टाचारको अखडा बनिरहेका छन् भन्ने कुरालाई थोरै पुरानो एउटा प्रकरणले पुष्टि गर्छ ।

घटना करीब २ वर्ष पुरानो हो, तर उक्त प्रकरणको भ्रष्टाचार मुद्दा विशेष अदालतमा अझै विचाराधीन अवस्थामा छ ।

गाविस सचिव, नेपाल दूरसञ्चार कार्यालयमा सहायक स्तरको कर्मचारी हुँदै यातायात व्यवस्था कार्यालयको लेखापाल नियुक्त भएका एक कर्मचारीले झण्डै सवा ५ करोड अकूत सम्पत्ति आर्जन गरे ।

हामीले यहाँ उल्लेख गर्न खोजेको प्रसंग हो– यातायात व्यवस्था कार्यालय इटहरी, सुनसरीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्धको भ्रस्टाचार मुद्दा ।

अवैध तरिकाबाट ५ करोड १० लाख ३३ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ वैशाख २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अझ रोचक कुरा त के भने– उनले चारजना श्रीमती राखेको, चारैजना श्रीमतीको नाममा जग्गा खरिद गर्ने, घर बनाउने, सवारी साधन खरिद गर्नेदेखि विलासिताका लागि मनोरञ्‍जनका सामानहरूमा अस्वाभाविक लगानी गरेको अख्तियारले गरेको अनुसन्धानमा भेटियो । त्यति मात्र होइन, सासूको नाममा, नातामा मामा पर्ने व्यक्तिको नाममा समेत सम्पत्ति खरिद गरेर राखेको भेटिएको थियो ।

उनले आफ्ना चार श्रीमती ३४ वर्षीया दुर्गा अधिकारी, ३० वर्षीया दीपा श्रेष्ठ, २५ वर्षीया सुस्मिता अधिकारी र २४ वर्षीया सोममाया श्रेष्ठको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिशान घर बनाउने काममा लगानी गरेका थिए । सबै श्रीमतीका लागि छुट्टाछुट्टै करोडौंको घर, इन्टेरियर डिजाइनमा मात्र लाखौँ रुपैयाँको लगानीसहित २० लाख रुपैयाँको ६० तोला सुन नै खरिद गरेका थिए ।

त्यति मात्र होइन उनले सासू पुष्पकुमारी निरौला र नातामा मामा पर्ने बलराम शर्माको नाममा घरजग्गासहित चलअचल सम्पत्ति जोडेका थिए । २०६८ पुस १७ गते श्रीमती दुर्गा अधिकारीको नाममा दर्ता कायम रहने गरी मोरङको कञ्चनबारीको १८ धुर जग्गामा बनाएको घरको इन्टेरियर डेकोरेसनमा मात्रै ३७ लाख २८ हजार ८८ रुपैयाँ खर्च गरेका थिए ।

प्रकाशित मिति: : 2021-04-13 18:29:00

प्रतिकृया दिनुहोस्