प्राज्ञहरुले देखेको विश्वविद्यालय सपना

अनलाइनखबर

काठमाडाै‌ं

सागर बुढाथोकी

इनारभित्रबाट देखाइने आकाशको सानो टुक्रा होइन, पहाडको टुप्पोबाट संसारलाई सूक्ष्म ढंगले विश्लेषण गर्न सक्ने शिक्षाको खाँचो छ । यसको अभावपूर्ति गर्नुपर्ने हो विश्वविद्यालयहरूले । तर नेपालमा अहिले भएका विश्वविद्यालयलाई जति सुधार गरे पनि यो अवस्था निर्माण हुने नदेखिएपछि प्राज्ञहरू यस्तै विद्यालय स्थापनाका लागि कस्सिएका छन् ।

युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट वातावरण विज्ञानमा विद्यावारिधि डा. उत्तमबाबु श्रेष्ठ गत साता नवलपरासीको गैंडाकोटमा भेटिए । हार्वर्ड युनिभर्सिटी, युनिभर्सिटी अफ म्यासाचुसेट्स, युनिभर्सिटी अफ मेन अमेरिकाका साथै टेक्निकल युनिभर्सिटी अफ म्युनिख जर्मनीलगायत सातवटा विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धानमा संलग्न श्रेष्ठसँगै थिए सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य ।

गैंडाकोट नगरपालिकाका १८ वडाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र नागरिक अगुवाबीच प्रस्तावित नेपाल विश्वविद्यालय स्थापनाको छलफल चलिरहेको थियो । छलफलको नेतृत्व प्रस्तावित नेपाल विश्वविद्यालयका परिकल्पनाकार प्रा. डा. अर्जुन कार्कीले गरेका थिए ।

थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर डा. सूर्यराज आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’मा विद्यावारिधि गरेका छन् । आचार्य नेपाल फर्किनुअघि जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध ‘पोलिसी थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए ।

४० वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाएका चैतन्य मिश्र विश्वविद्यालयले गुणस्तर सुधार्न नसकेको देखेर चिन्तित थिए । केही नयाँ गर्ने सोचिरहेका बेला डा. कार्कीले उनलाई भिन्न अवधारणासहितको विश्वविद्यालयको परिकल्पना सुनाए । नेत्र चिकित्सक डा. सन्दुक रुइत, मुटु शल्यचिकित्सक डा. भगवान कोइराला, डा. देवेन्द्रराज पाण्डे र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पनि उक्त परिकल्पना मन पराए ।

प्रकाशित मिति: : 2021-04-13 11:29:00

प्रतिकृया दिनुहोस्