राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्र्नुपर्ने बताएका छन्।
आयोगमा आज ‘ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण गर्न सरोकारवालासँग छलफल’ विषयका कार्यक्रममा उनले जेष्ठ नागरिकको अधिकार संरक्षणमा विगतदेखि नै अध्ययन अनुसन्धान गर्दै आइरहेको र अधिकार सुनिश्चतका लागि काम गरिरहेको बताए।
उनले देशभरका अस्पताललाई ‘जेरियाट्रिक’मैत्री बनाउनुपर्ने र त्यसका लागि आयोगले सम्बन्धित निकायसँग छलफल गरिरहेको समेत जानकारी दिए।
आयोगको छैटौँ रणनीतिक योजना तर्जुमाको सन्दर्भमा आयोगले विभिन्न क्षेत्र र समुदायसँग छलफल तथा सुझाव लिँदै आइरहेको छ। सो क्रममा ज्येष्ठ नागरिकको अधिकारको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं विज्ञहरुबीच छलफल गरिएको हो।
छलफलमा ज्येष्ठ नागरिकको अधिकार सुनिश्चितताका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवार निकायलाई उत्तरदायी बनाउनुपर्ने, स्थानीय सरकारको बजेट, योजना र कार्यक्रममा ज्येष्ठ नागरिकका विषयलाई प्राथमिकताका आधारमा राख्नुपर्नेमा जोड दिइएको थियो।
वातावरण प्रदूषणबाट ज्येष्ठ नागरिक थप जोखिममा पर्ने हुँदा यसतर्फ ध्यान दिनुपर्ने, विद्यालय स्तरबाटै नैतिक शिक्षामा जोड दिनुपर्नेलगायतका धारणा सहभागीबाट आएको थियो । छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, काठमाडौँ महानगरपालिकाका निर्देशक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव, जेरियाट्रिक विज्ञ, महानगरपालिका तथा नगरपालिकाका उपसचिव, वृद्धाश्रम सञ्चालक, ज्येष्ठ नागरिक अभियन्ता तथा विज्ञलगायतको उपस्थिति थियो। रासस