छिमेकी मुलुक भारतमा कोभिड-१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल-भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी संयन्त्र परिचालन गरिएको पाइँदैन।
सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ।
अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ। सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ।
भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ।
सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले सङ्क्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउछन्।
संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन। प्रभावकारी सयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेको छन्। सीमा नाकामा सङ्क्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्यारिन्टिनको व्यवस्था भने गरिएको छैन।