सेनाको तबेलामा ३ दशक बिताएका प्रमुख सुबेदार राजु खत्रीले गत मंसिरमा अवकाश पाए। वर्षौपछि सधैंका लागि घर फर्कँदै थिए उनी। रिटायर्ड जिन्दगी, सधैंका लागि त्याग्दै थिए चुस्ता, बाँकी समय दिँदै थिए घरपरिवारलाई - मनमा छाउनु पर्ने थियो खुशी। तर, मन भइदियो बेचैन। किनकि उनी अझै ठूलो परिवार छाडेर निस्किँदै थिए नेपाल क्याभ्लरीबाट।
नेपाल घोडचढी सेनाको त्यो परिवारमा विभिन्न पद र तप्काका सैनिकहरू थिए। सँगै थिए, विभिन्न रङ र उमेरका घोडा। ती घोडा जो उनका सबैभन्दा नजिक थिए। तबेलाको फोहोर, दुर्गन्ध र रिसाहा घोडाको लात बिर्साइदिने निकटता थियो उनीहरूसँग।
सैन्य अनुशासनमा बाँधिएका राजु कहाँ चल्न सक्थे र नियम विपरीत। नियमले क्याभ्लरीबाट निस्किन भन्यो, निस्किए। घर फिरे।
फुर्सदिलो समयमा बानी पार्न थाले। लगाम सम्हालेको हातले कुटो, कोदालोमा बानी पार्दै थियो, नजिकियो घोडेजात्रा। अनि सुरु भयो उस्तै छट्पटाहट - कस्तो भइरहेको होला घोडेजात्राको तयारी? कुन घोडालाई कुन खेलमा राखिएला? बिरामी घोटालाई त कुदाउँदैनन् होला नि?