जीवन क्षेत्री
मैले नियमितजसो हेर्ने युट्युब च्यानलहरूको संख्या आधा दर्जन हाराहारी छ । तर, सुन्न थालेको एकाध वर्षमै मैले नियमितजस्तो सुन्ने पोडकास्ट ‘स्टेसन’हरूको संख्या ६२ पुगेछ । त्यसमध्ये पनि ‘द अडियो ब्राउजर’ नामक पोडकास्टमा ‘द ब्राउजर न्युजलेटर’का तर्फबाट ‘क्युरेट’ गरिएका पचासौँ पोडकास्टका अंकहरू आउँछन् । त्यस हिसाबले सयभन्दा बढी किसिमका पोडकास्टहरू सरल रूपमा मेरो पहुँचमा छन् ।
त्यसैले होला, बितेको वर्षमा आफूले सुनेका वा हेरेका उत्कृष्ट सामग्रीहरू खोज्दा मैले पोडकास्ट १० वटा भेटेँ, अनि युट्युबमा उपलब्ध सिनेमाहरू जम्मा दुई । तीमध्ये एउटा सत्यजित रेको सन् १९९१ मा बनेको कथानक चलचित्र हो भने अर्को दुई नेपाली निर्देशकका वृत्तचित्र । एउटा फिल्म फेस्टिभलमा हेरेका तीन सिनेमा (दुई वृत्तचित्र र एउटा छोटो फिल्म)सहित यो वर्ष मेरो मनलाई झकझक्याएका पाँच सिनेमाको सूची यहाँ राखेको छु ।
पोडकास्टको विचित्र संसार
पश्चिमा देशहरूमा बच्चाहरूलाई सुत्नुअगाडि कथा सुनाउने संस्कृति छ । म उता कहिल्यै नगए पनि उताबाट आउने आख्यान र गैरआख्यान सबैले त्यसको पुष्टि गर्छन् । हामी आफू पनि बाजेबज्यै र बाआमाका मुखबाट दन्त्यकथाहरू सुनेर हुर्केका हौँ । तर, हाम्रा छोराछोरीहरू कार्टुन र ‘सोप ओपेरा’ हेरेर अनि मोबाइलमा गेम खेलेर हुर्किरहेका छन् ।
सुन्ने कथाको सट्टा एकैसाथ सुन्ने र हेर्ने कथाहरू उनीहरूसँग छँदै छन्, त्यसैले उनीहरूको मानसिक विकास झन् राम्रो होला, हामी धेरै अभिभावक यस्तै सोच्छौँ । तर, सुन्ने कथा र हेर्ने-सुन्ने कथामा केही समानता र भिन्नता छन् ।