प्रधानमन्त्रीको सेनालाई निर्देशन: वायु प्रदूषण घटाउन हेलिकप्टरबाट डढेलो निभाउनु

रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा उच्च वायु प्रदूषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाइजहाज र हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठूलो मात्रामा र विकट जंगलका डँढेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताए।

‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो।

यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्नसकिने भए सोका लागि समेत कार्य प्रारम्भ गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए।

यस कार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो।

प्रधानमन्त्री ओलीले अहिलेको आगलागीलाई गम्भिरतापूर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताए।

'अहिले देशभित्र सात सय ठाउँमा आगलागी भएको उहाँले यो स्वाभाविक नदेखिनेसमेत बताए। ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्रीको प्रश्न थियो।

आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदूषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताए। ‘मभन्दा बूढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्रीले भने।

रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विकास आयोजनाहरुमा सामान्यबाहेकका कुनै उल्लेखनीय समस्या नदेखिनु सुखद् पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, बिस्कुट खाद्य पदार्थ आफैँ उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणा समेत राखेका थिए।

आफैँ उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्नसकिने स्थिति बन्ने धारणा प्रधानमन्त्री ओलीको थियो।

उनले भने, 'तर त्यसरी तयार हुने पोशाक सितैँ होइन, परल मूल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइने हुनपर्छ।'

कार्यक्रममा प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरुप नै पुरा हुने दिशामा अघि बढिरहेको बताए।

साथै वीरन्द्र सैनिक अस्पताललाई ठूला जनधनको क्षतिका बेला काम गर्नसक्ने स्तरमा पुर्‍याउने, बंकरहरुलाई व्यारेकमा स्थानान्तरण गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनालगायतका विषयमा कार्यहरु अघि बढिरहेको उनको भनाइ  थियो।

कार्यक्रममा चौमासिक प्रगति विवरण पेश गर्दै रक्षा सचिव रेश्मिराज पाण्डेले केही सामान्य चुनौतीका बाबजुद लक्ष्य अनुरुप नै प्रगति भएको उल्लेख गरेका थिए।

प्रकाशित मिति: : 2021-04-06 16:31:00

प्रतिकृया दिनुहोस्