दैजी छेला औद्योगिक क्षेत्रको निर्माण कार्य तिब्र रुपमा अघि बढ्दै

बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ।

औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो।

नगर प्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा गएर कार्य अगाडि बढाउन लागिएको हो।

कार्य अगाडि बढाउनका लागि नगर प्रमुख, वडाध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधिसँग छलफल गरिएको छ।

औद्योगिक क्षेत्रको कार्य छिटो छरितो तथा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले आठ लाख १३ हजार रकम पेश्कीका रुपमा उपलब्ध गराउने निर्णय गरेको बताइएको छ।

बिल भर्पाइसहितको खर्चको फाँटबारी प्राप्त भएपछि फरफारक हुने गरी लागत अनुमानका आधारमा रकम डिभिजन वन कार्यालयका नाममा पेश्कीका रुपमा उपलब्ध गराइने जनाइएको छ। गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।
 
औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ। 

प्रकाशित मिति: : 2021-04-05 09:23:00

प्रतिकृया दिनुहोस्