पुस्तक पढ्ने क्रेज बढ्दो

तेजन खड्का

उर्लाबारी

झापा गौरादहका पत्रकार सन्तोष बिस्टले आफ्नो फेसबुक स्टाटस लेखे- 'विजयकुमारको ‘सम्बन्धहरु’ पढेर समय कटाउँदैछु।'

उनको फेसबुक स्टाटसमा बग्रेल्ती कमेन्ट आइहाल्यो- 'तिम्ले पढिसकेपछि मलाई देऊ है।'

चाहे सामाजिक सञ्जाल होस् वा चिया गफ। साथीभाइ भेटघाटमा पुस्तककाे कुरा निकाल्ने जमात निक्कै छन्। अनि कुरा निस्किन्छ- 'फलानो पुस्तक पढियो वा पढेको छैन भने पढ्नु है। मलाई राम्रो लाग्यो।'

पछिल्लो समय आम मानिसमा पुस्तक पढ्ने क्रेज बढ्दै गएको छ। नयाँ पुस्तकहरूले पाठक पाउन थालेका छन्। बजारमा नयाँ नयाँ पुस्तक आएपनि मूल्य सर्वसुलभ नहुँदा पाठकहरूले पुस्तक मागेर पढ्नुपर्ने गुनासो पनि उत्तिकै छ।

'पुस्तक राम्रो छ तर महँगो छ भने आर्थिक भार थेग्ने सकिँदैन। अरूले पढिसकेपछि मागेर हात पारिन्छ' ,मोरङ रतुवामाईकी कल्पना दाहाल भन्छिन्।

पुस्तक महँगो हुँदा पाठकहरू मारमा छन्। साथीभाइसँग साटासाट गरेर पुस्तक पढ्ने भोक मेटाइन्छ।

उर्लाबारीमा सामाजिक काममा सक्रिय युवा लोलिम पोमु फुर्सदको समय पुस्तक पढेर दिन काट्ने बताउँछन्। पुस्तक अध्यननबारे पोमु भन्छन्, 'म प्रायः बिहानबाट पढ्न सुरु गर्छु। फ्रेस मुडमा पुस्तक पढ्ने बानी छ। अर्को, म एकदमै छिटो पढ्न पनि सक्दिनँ। त्यो किनभने मलाई पुस्तकका पात्रहरूमा घोत्लिन मन लाग्छ।'

पोमुले पुस्तकबाहेकको जिन्दगी कल्पना पनि गर्न नसकिने बताए। पोमु भन्छन्, 'पुस्तकहरू मेरा आफन्त हुन्, साथी हुन्।'

उर्लाबारीका बुद्धराज लिम्बू लिलाराज खतिवडाको  म को हुँ’ पुस्तक पढ्दैछन्। 'म लिलाराजको लेखन शैलीबाट प्रभावित छु, उनको हरेक रचना पठनिय लाग्छ।',  'म को हुँ' पढ्नुको कारण लिम्बूले यसरी स्पष्ट पारे।

पुस्तक अध्ययनमा युवाहरूको आकर्षण बढ्दै गएको देखिन्छ। पुस्तकालयमा पढ्ने अनुकूल वातावरण हुने भएकाले युवाहरूमा पुस्तक पढ्ने लहर चलेको छ।

बिक्री बढ्यो

मोरङ स्टेसनरीका सञ्चालक सुरज गौतम पुस्तकको बिक्री ह्वात्तै बढेको बताउँछन्। गौतम भन्छन्- 'बजारमा आएका नयाँ पुस्तक किन्न आउनेहरू बढी हुन्छन्।' सुरजका अनुसार हरिवंश आचार्यको 'चिना हराएको मान्छे', विजयकुमारको 'खुसी', रुकमाङ्गत कटुवालको आत्मकथा तथा नारायण वाग्लेको 'पल्पसा क्याफे' अत्याधिक बिक्री भएको छ। पहिले पसलमा झुन्डाइएका पुस्तकहरू वर्षौंसम्म बिक्री नभइ त्यसै पुराना हुन्थे। अहिले त नयाँ पुस्तक थपिरहनुपर्छ। बिक्री भैहाल्छन्।

नाम चलेको साहित्यकारभन्दा पनि युवापुस्ताका साहित्यकारका पुस्तक बढी बिक्री हुने गौतमले बताए। गौतमका अनुसार आत्मकथाहरू बढी बिक्री हुने गरेका छन्। पुस्तक पढ्ने क्रेज व्यवसायी, लेखक तथा युवा सबैमा छ। पसलमा बिक्री नभई थन्किएका पुस्तक पनि पुरस्कार पाएपछि ह्वात्तै बिक्री भएको अनुभव गौतमको छ।

मोरङ उर्लाबारीकी साहित्यकार सावित्रा याक्खा पुस्तक अध्ययन नगर्ने हो भने पछि परिने बताउँछिन्। अध्ययनले सकारात्मक सोचको विकास गर्ने, ज्ञान अभिवृद्धि गर्नुका साथै लेखनमा समेत टेवा पुर्‍याउने याक्खाको बुझाइ छ। याक्खा भन्छिन्-'पुस्तक ज्ञानको भण्डार हो भने यो हतियार पनि हो।'

झापा, गौरादहका अर्जुन खड्का रुकमाङ्गत कटुवालको आत्मकथा पढ्दैछन्। खड्काका अनुसार साथीहरूले विभिन्न पुस्तकका सम्बन्धमा प्रश्न तेर्स्याउँछन्, त्यसैलेपनि पढ्छन्। 'पहिले चियागफमा राजनैतिक कुराकानी हुन्थ्यो, तर हिजोआज पुस्तकसम्बन्धी चर्चा पनि हुन्छ' ,खड्काले भने। पुस्तकले अज्ञानतालाई ज्ञानमा र अन्धकारलाई प्रकाशमा परिणत गर्ने उनको बुझाइ छ।

माग्नेको हैरान, लगेपछि फिर्ता आउँदैन

उर्लाबारीका दिलिप पोखरेल पुस्तकमा अत्याधिक रकम खर्च गर्छन्। भन्ने नै हो भने उनको सिद्धान्त थोरोको जस्तै छ, ''पुरानो कोट लगाउ नयाँ पुस्तक किन।' यद्यपि, उनि मागेर मात्र पुस्तक पढ्नेहरुसँग सन्तुष्ट छैनन्। पोखरेलले ठट्टा गर्दै भने, 'किताब किन्यो पढ्न नपाई मागेर लगिहाल्छन्, आफैले किनेको कतिपय पुस्तकको आवरण मात्र सम्झना छ।'

पोखरेलले जस्तै नगद खर्चिएर पुस्तक किन्नेहरू मागेर काम चलाउनु पर्दा हैरान छन्। किनभने पढ्न भनेर लगिएको पुस्तक फिर्ता आउँदैन, हराउँछ। पुस्तक पढ्ने क्रेज बढेपनि किनेर पढ्ने संस्कार भने विकास हुन सकेको छैन। उनीहरू मागेर नै काम चलाउँछन्।

'एकपटक किनेर पढेको पुस्तक पुनः चाहिने हुन्छ, त्यो पछिसम्म काम लाग्छ, तर मागेर लानेहरूले हराइदिन्छन्। साथीभाइ भनेर विश्वास गरेर दियो, पुस्तक नै फिर्ता आउँदैन।',  एक पाठकले भने, 'पुस्तककै कारण साथीभाइबीच फाटो पनि आएको छ। दिन्छु दिन्छु भन्छन्, तर फिर्ता आउँदैन।'

प्रकाशित मिति: : 2021-04-03 18:36:00

प्रतिकृया दिनुहोस्