सन्तोष दाइको गाडीको डिकीमा बसेर धापासी पुगेँ

बाह्रखरी

काठमाडौं

गाउँमा न कलाकारिता गर्नुपर्छ भन्ने चेत थियो, मध्यम वर्गीय परिवार न रमाइलो गरेर हिँड्ने समय नै हुन्थ्यो। कृषि कर्ममै व्यस्त हुन्थे, जितबहादुर नेपाल पनि। बुवा–आमालाई घर–खेतको काम सघाउँथे। उनको प्राथमिकता पढाइ थियो अथवा काम ? खुट्ट्याउन उनलाई कठिन थियो।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, काठमाडौंबाट मात्रै ७५ किलोमिटर टाढा छ, जितबहादुरको घर। तर, बत्तिमुनिको अँध्यारो भने झैँ। न सिनेमा हलको पहुँच न टेलिभिजनको। पहिलोपटक उनले राजेश हमालको चलचित्र ‘युगदेखि युगसम्म’को पोस्टर देखेका हुन्, गाउँमा। ४० को दशकको मध्यतिर। त्यो समयसम्म फिल्म हुन्छन्, कलाकार हुन्छन् भन्ने पनि उनलाई पत्तो थिएन।

गाउँमा मनोरञ्जन भनेको कसैको घरमा सप्ताह लगायो भने भजन, बालन र देउसी–भैलो मात्रै थियो। देउसी–भैलो खेल्न सानो छँदा गाउँका दाइहरुसँग हिँड्थे। पछि जितबहादुर आफैँले नेतृत्त्व लिए। आफैँ भट्ट्याउँथे। आफैँ पैसाको बाँडफाँड गर्थे।

त्यो बेलासम्म म हँसाउछु भन्ने उनलाई थाहा थिएन। अरुलाई हँसाउनु पर्छ भन्ने पनि थिएन। तर, जितबहादुर बोल्दा उनका साथीहरु हाँस्थे। “वनभात खान गइन्थ्यो। त्यहाँ रमाइलो हुन्थ्यो। हँसाउनुपर्छ भन्ने नै त थिएन। तर, साथीहरु म बोल्दा हाँस्दा रहेछन्,” उनी भन्छन्, “गाउँका साथीहरु अहिले तँ त त्यही बेलादेखि नै हँसाउँथिस् नि भन्छन्। मैले त्यही बेला हँसाउँदोरहेछु भन्ने अहिले थाहा पाउँदै छु। कुलाको पानी खेर गएजस्तै खेर गएछ, त्यो बेला मेरो कला।”

०४७ सालमा एसएलसी दिए। ०४८ मा रिलज्ट आयो। दाइ कमल र योगनाथसँगै बसेर काठमाडौंमा होटेल चलाउँदै पढ्ने योजना बनाएर जितबहादुरले काभ्रे छोडे।

प्रकाशित मिति: : 2021-04-03 17:09:00

प्रतिकृया दिनुहोस्