पढिरहेको स्कुल घरभन्दा अलि धेरै पर थियो। चर्को घाममा दुई किलोको झोला बोक्दै दुई किलोमिटर हिँडेर घर आइपुग्दा, खुट्टा पानीले भिजेका पानाजस्तै हुन्थे। गलेर फतक्क।
त्यसैले तीन कक्षा सकेर चारमा पुगेपछि, नजिकैको नयाँ स्कुलमा सरूवा भयो। नयाँ ड्रेस, नयाँ रिबन अनि बुवाको पालिस दलेर पुरानै भए पनि टिलिक्क पारेका जुत्ता। म उज्याली भएर नयाँ स्कुल पुगेँ। पुगेकै दिन नयाँ स्कुलमा नयाँ कुरा सिकियो।
त्यसअघि मलाई थाहा भएको, स्कुल कि सरकारी हुन्छ कि बोर्डिङ। तर बोर्डिङ स्कुलकै पनि अरू थुप्रै हाँगाबिँगा हुने रहेछन्। मोटो हाँगामा अग्लो भवन ठड्याउने एउटा, मसिना हाँगामा भाडाको भवनभित्र जेनतेन झुन्डिने अर्को। थरीथरीका। जति धेरै महँगो, जति धेरै स्कुल बस, जति चौडा चउर अनि जति धेरै सेक्सन, स्कुल उति ठूलो हुने रहेछ।
गएको दिन नै नयाँ स्कुलका नयाँ साथीहरूले सुनाइहालेः
पहिलो - 'त्यो भ्याली टप हो कि भालु टपमा त इङ्ग्लिस बोल्न नि सिकाएको छैन होला नि?'
अर्की - 'हाहाहा। सरकारी स्कुल हो?'
'थर्ड ब्वाइ' ले अलि लामै दियो, 'तिमीहरूको सानो स्कुलमा फर्स्ट भएजस्तो होइन यहाँ। हाम्रो फर्स्ट ब्वाइ त चुरोट भन्या पनि बुझ्दैन, सिगरेट मात्रै बुझ्छ। हाम्रोमा त ए सेक्सनमा पढ्न पाइरहेकी छौ, त्यही ठूलो कुरा हो। यहीँ टिक्न गाह्रो छ।'
अन्त्यमा सबै सँगै - हाहाहा।
अहिले सम्झिन्छु र लाग्छ, जाबो 'सिगरेटलाई नेपालीमा चुरोट भनिन्छ' भन्नेसम्म थाहा नपाउने कस्तो फर्स्ट ब्वाइ!
तर यो जवाफ अहिले आएको हो। त्यो बेला त म केही बोल्न सकिनँ। घाँटीमा सानो गाँठो पर्यो, बोली फुटेन।
यत्ति थाहा भयो, म सानो स्कुलबाट ठूलो स्कुलमा आएकी रहेछु, अब एक्लै भएँ।
अब स्कुल नजिकै थियो। हिँड्न सजिलो भयो। तर म भने पहिलेभन्दा झन् बढी थाक्न थालेँ। लाग्न थाल्यो, स्कुल गएर रुन्चे अनुहार लाउनुभन्दा त बरू घरमै रुन्चे अनुहार देखाएर स्कुलै नजानु जाती। स्कुलमा हार्नुभन्दा त घरमै हराउनु जाती।
म 'पेट दुख्यो', 'टाउको दुख्यो' भन्दै अनेक बहाना गरेर स्कुलबाट पन्छिन थालेँ। मेरा झुटा बहाना सुन्दा-सुन्दा बिस्तारै जिउलाई पनि रिस उठ्न थालेछ। केही महिनामा जिउ हप्तैपिच्छे तात्न थाल्यो। टाउको हरेक दोस्रो दिन दुख्न थाल्यो। रोगकै पनि बानी लागेपछि स्कुल नजाने बहाना सकियो।