केवल केटाकेटी जिस्काउने पर्व नबनोस् फागु पुर्णिमा

आज फागु पुर्णिमा अर्थात होली।

रंगहरुको पर्व भनेर यसको ब्याख्या गरे पनि मैले बुझेसम्म यो समस्या नै समस्याको पर्व हो।

व्यक्तिगत रुपमा मलाई यो पर्वसँग सम्बन्धित सम्झना त्यति राम्रो छैन। अपवादको रुपमा कसैले जबर्जस्ती रंग वा पानी हालेको बाहेक आफै उमंगसँग फागु खेलेको सम्झना पनि छैन।

मैले यो पर्व नमनाउनुको प्रमुख कारण– मलाई अबिर पर्ने बितिकै चिलाउन थाल्छ। एलर्जी छ। आफूले रङ्ग हाल्न पाउञ्जेल मज्जाले दल्ने तर अरुले रङ्ग हाल्न लाग्यो भने रिसाउने ब्यक्ति देखेर पनि मलाई यो पर्व मनाउन खासै इच्छा लाग्दैन। यसको मतलब यो पर्वको नकारात्मक पक्ष मात्र छ भन्ने गलत अर्थ पनि नलागोस्। 

म जन्मे हुर्केको काठमाडौँमा फागु वा होली भनेको उक्त दिनभन्दा एक महिना अगाडिदेखि केटाहरुले बाटोमा हिड्ने केटीलाई सताउने लक्ष्यले बेलुनमा पानी भरेर हान्ने र केटीले घरको माथिल्लो तलामा बसेर बाटोमा हिड्ने केटालाई पानी खन्याउने मात्र हो। जसमा चाड पर्वको उमंगभन्दा बिपरित लिंगीसँगको अन्तरक्रिया मात्र हो। अब आफै बिचार गरौँ, एक घुट्को पिउन पानीको थोपाथोपा जोगाउनु पर्ने काठमाडौँमा दिनभरि बसेर अरुको शरीरमा खन्याउने पानी कस्तो होला?  

फागुको दिन रंगभन्दा पनि गाडीको इन्जिनमा हाल्ने तेलदेखि सडेको अण्डासम्म र हिलोदेखि फोहरसम्म हाल्ने गरिन्छ। भलै यो कुरा स्वीकार्न नसकिएला, धेरै जनाको त रंग लगाउने बहानामा महिलाको संवेदनशील अंगमा हात लगाउने दाउ पनि हुँदोरहेछ। यस्तै काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा बिदेशी महिलालाई नियतवश यस्तै अभद्र व्यवहार गरेको पंक्तिकारले धेरै देखेको/सुनेको छ।

फागु पर्वमा कसैको इच्छा बिपरित र जबर्जस्ति रंग लगाउने र पानी छ्याप्नेलाई कडा कारबाही गरिनेछ भनेर एउटा सूचना प्रकाशित गरेर सिडियो कार्यालयले झारा टारे पनि सडक सडकमा महिलालाई र घरको छतमा बसेर बाटो हिड्ने पुरुषलाई पनि छयापेर हैरानी दिँदा पनि प्रहरी प्रशासनले कडाइका साथ कारबाही गरे जस्तो लाग्दैन। यो बर्ष के कति कडाइ साथ त्यस्तो क्रियाकलापलाई हतोत्साहित गरिएको छ, त्यसबारेमा मलाई जानकारी भएन। किनभने यो बर्ष म नेपालमा छैन। बेलुनमा पानी कम र हावा बढि हालेर बनाएको लोलाले हान्दा शरीर सुन्निएको र निल परेको पनि मैले थाहा पाएको छु। यस्तो क्रियाकलापलाई चाड पर्वसँग जोडेर कुनै हालतमा हेर्न सकिदैन। यो बिशुद्ध परपीडक मानसिकता हो। अहिले त बेलुनको सट्टा प्लास्टिकको ब्यागमा पानी हालेर छ्याप्ने गरिन्छ। सायद मान्छेसँग बेलुन किन्ने पैसा नभएर हो कि?

प्रहरीले यस्तो क्रियाकलापमाथि कारबाही गर्दैन भनेर मैले किन भनेको हो भने, बिशेषगरि सरकारी स्कुल–कलेजमा खुलेयाम र जबर्जस्ती पानी छ्याप्ने गर्दा प्रहरीले आँखा चिम्लेको हुन्छ। हुनसक्छ, प्रहरीको पनि आफ्नै बाध्यता होला। आज फागुमा लोला हानिरहेको युवा नेता (सरकारी स्कुल र कलेजमा पढ्ने प्राय: सबै नेता नै हुन्छन, अपवादमा मात्र बिद्यार्थी) भोलि गृहमन्त्री भएर आउन पनि सक्ने भएर हो कि? 

धेरै बर्षअघि मेरो छिमेकमा एक मुस्लिम धर्मालम्बीलाई जबर्जस्ती रंग हाल्दा निस्केको बिबादले एउटा व्यक्तिको ज्यान गएको र अर्को ब्यक्ति जन्म कैदमा परेको नमिठो सम्झना छ, मसँग। त्यसैले गर्दा पनि होला मलाई यो पर्वले खास आकर्षित गर्दैन। मुस्लिम धर्ममा रंग लगाएर फागु खेल्ने प्रचलन छैन र हामी सबैले सबैको धर्मको सम्मान गर्नुपर्छ। यदी गर्न सकिएन भने परिणाम नराम्रो नै आउँछ।

मलाई रुचि नलाग्दैमा यो पर्व बिल्कुलै खराब हो भन्ने अर्थ नलागोस्। यो पर्वको पनि आफ्नै बिशेषता र गरिमा छ। जसलाई भित्रै देखि उमंगका साथ मनाउन मनलाग्छ, उसले खुशीका साथ मनाउनु पर्छ। तर जसलाई मन लाग्दैन, उसको इच्छाको सम्मान गर्दै जबर्जस्ती गर्नु राम्रो होइन। त्यस्तै फागु भनेर बोल्न नसक्ने कुकुरलाई रंग दल्नु राम्रो काम होइन। चिलायो भने पनि केही भन्न नसक्ने प्राणीलाई दु:ख दिनु कतिसम्म जायज होला, त्यो आफैले विचार गर्ने विषय हो। 

सम्बन्धित निकायले पनि केवल पत्रपत्रिकामा एउटा सूचना निकालेर झारा टार्नुभन्दा संवेदनशील भएर कडाई गर्ने हो भने यस्तो बिकृतिमा उल्लेखनीय कमी आउनसक्छ। होली वा फागु पुर्णिमा मनाउँदा शालीन तरिकाले मनाउन म सबैसँग आग्रह गर्दछु। सम्पूर्ण पाठकवर्गलाई फागु पुर्णिमाको शुभकामना। सबैको जीवन रङ्गमय बनोस्। 

@twitter#naviinr

प्रकाशित मिति: : 2021-03-28 10:34:00

प्रतिकृया दिनुहोस्