कोरोनाकालमा श्रीमतीलाई नै झुक्याएर अपत्यारिलो रक्तदान !

लोकान्तर

काठमाडाैं

आजकल साथीहरूले परिचय गराउनु पर्दा मलाई ‘ही इज द ब्लड डोनर’ भन्छन्। त्यो सुन्दा मलाई धेरै खुशी लाग्छ।

मेरो बच्चाहरूको नसामा मेरो रगत बगिरहेका छन्। विश्वभरमा मैले दान गरेको रगतबाट बाँच्ने ती सबै मेरै परिवारका सदस्य जस्तै लाग्छ। किन नलाग्नु र ! सन् १९८७ देखि अहिलेसम्म ६ वटै महादेशका १७ देशमा १९५ पटक रगत दान गरिसकेछु।

‘९७.५ लिटर !’ यति परिमाणबाट ५८५ जनासम्मलाई बचाउन सहयोग हुन्छ। केहीलाई भए पनि मेरो आफ्नै रगत दिइ बचाउँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरुँ भन्ने भावनाले पटक–पटक संसारका कुना–काप्चामा पुगेर रक्तदान गर्ने गरेको छु।  

बिरामीलाई रगत दिएर बचाउनु एक सामान्य चिकित्सा उपचार हो। यस्तो भएता पनि धेरै बिरामीले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौं।

करीब ३३ वर्षअघि म रक्तसञ्चार सेवा केन्द्र काठमाडौंमा गएको थिएँ। त्यहाँ श्रीमतीको उपचारका लागि २ पोका रगत लिन एक श्रीमान् आएका थिए। रक्तसञ्चार सेवामा पर्याप्त रगत थिएन। त्यहाँका कर्मचारीले ती श्रीमान्लाई श्रीमती बचाउन आफैं नै रगत दिनु न भन्दा कमजोरी पो भइने हो कि भन्ने डरले रगत दिएनन्। त्यस्तो स्थिति देखेपछि मैले रगत जरुरी पर्नेहरूका लागि नियमित रूपमा रक्तदान गर्छु भन्ने प्रण गरें।

रक्तदान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउन प्रयास गरें। रक्तदान कार्यक्रमहरू सञ्चालन गरें। सन् १९९० मा रक्तदान गरेको १ घण्टापछि कम्तिमा वर्षको एक पटक रक्तदान गरौं भन्ने नारा लिएर नेपाल अधिराज्यव्यापी ३१ दिनसम्म लगातार बाइसाइकल यात्रा गरें।  

रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरूको सामूहिक प्रयासमा ब्लड डोनर्स एसोसिएसन नेपाल संस्था गठन गर्‍यौं। म संस्थापक सदस्य थिएँ। पछि अमेरिकी नेपाली समुदायमा रक्तदानलाई स्थायित्व प्रदान गर्न ब्लड डोनर्स अफ अमेरिका र अन्य देशका नेपाली रक्तदाता समेट्दै इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स संस्था बनाएँ।

यसरी स्थानीयदेखि राष्ट्रिय अनि अन्तर्राष्ट्रियसम्म परिणाममुखी काम गर्न सकेकोमा धेरै–धेरै खुशी लागेको छ।  

रक्तदानप्रति उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भइसकेको छ। छरछिमेक तथा टोल र विभिन्न संघसंस्थाका मानिसहरू मेरो नामलाई रक्तदानको पर्यायवाची अर्थ्याउन थालेका छन्। दुःख आखिर कहाँ छैन र ? ठाउँ, परिवेश, घटनाक्रमले मानव जातिलाई ल्याउने फरक–फरक खालका दुःखहरू धेरै रहेछन्।

२०१६ जुनमा अफ्रिकाको मलावी देशमा खाद्य संकट भएपछि आपतकाल घोषणा गरिएको समाचार सुनेको थिएँ। अझ धेरै कुरा थाहा पाउन गूगलमा सर्च गरें। अर्को कुरा थाहा भयो, अफ्रिका महादेशका धेरैजसो बिरामीले चाहिएको बेलामा रगत पाउँदा रहेनछन्। त्यसैले त्यहाँका युवामा कम्तिमा वर्षको एक पटक रक्तदान संस्कृति बसाउन प्रयास गर्न मन लाग्यो।  

न्यूयोर्कमा रहेको बिमा कम्पनीमा मेरो सानो जागिर थियो। न्यूयोर्कबाट अफ्रिकाका देशहरूमा जान हवाइजहाजबाट नै १५–२० घण्टा लाग्दो रहेछ। मेरो लागि टिकट पनि धेरै महंगो थियो। यसो सम्झें, रगत नै नपाएर विचरी गर्भवती र सुत्केरी महिलाले जीवन गुमाउनु भनेको म जस्तो रक्तदाताको लागि साह्रै लाजमर्दो कुरा थियो। गर्भवती महिलालाई गाह्रो परिस्थितिमा आफ्नो रगत नै दिएर बचाउने कोही रहेछन् भन्ने विश्वास दिलाउनु थियो। यही भावनाले नै मलाई अफ्रिकामै जाउँजाउँ लागि रह्यो।  

प्रकाशित मिति: : 2021-03-27 10:01:00

प्रतिकृया दिनुहोस्