छिमेकी भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ।
बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतिय बजार रुपैडियामा जान रोक लगाउने निर्णय गरेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले रुपैडिया जान रोक लगाउने, भारतबाट नेपाल आउने नागरिकको अनिवार्य कोरोना परिक्षण गर्नेदेखि जिल्लाभरीका क्वारेन्टिन र आइसोलेसन वार्डहरु पूर्वतयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
यस्तै कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ।
बैठकले जमुनाहस्थित सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिइएको प्रजिअ कुरुम्वाङले जानकारी दिए। जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परिक्षणको काम शुरू गरिसकेको छ। अहिले भारतमा मजदुरी गरिरहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन्।
नेपाल फर्किएका केहीमा समेत कोरोना संक्रमण देखिएको छ। बैठकले बाँके जिल्ला उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ। विपद् समितिले नाकामा कडाई गर्नुका साथै आम नागरिकलाई भीडभाड नगर्न स्वासथ्यका मापदण्ड पालना गर्न, सुरक्षित रहन समेत आग्रह गरेको छ।