४० वर्षसम्म दुर्गाप्रसाद मात्रै हराएनन्, आमाको सपना पनि हरायो

अनलाइनखबर

काठमाडौं

२०३७ सालमा एकतप्पाबाट हराउनुअघि दुर्गाप्रसाद तिम्सिना भन्ने गर्थे, ‘अब जमिन जोडेर घर बनाउनुपर्छ, काम गर्न जान्छु, फर्किएपछि सुख हुन्छ।’

सोमबार इलामको माई नगरपालिका– १०, लुम्बाकमा भेटिंदा ८६ वर्षीया आमा धनमाया तिम्सिना ती पुराना कुरा सम्झिइरहेकी थिइन्।

‘त्यसबेला यही साइँलोको त भर थियो, तोरी बेच्न हिंडेको छोरो कहाँ हरायो, हरायो’, उनले अनलाइनखबरसँग भनिन्। आफन्त धीरेन्द्ररमण शर्माका अनुसार २०२४ सालमा बुबा चम्पाखर बिते, बिफरको महामारीले एक महिनाभित्रै दुई छोरा र एक छोरीको ज्यान गयो।

क्षतिपूर्तिबाट थोरै रकम आए जीविकोपार्जनका लागि खर्च गर्ने र अलि धेरै पैसा आए दाइको अस्तित्व सधैं रहिरहने गरी उहाँ जस्तै बेपत्ता भएका व्यक्ति खोज्ने ट्रष्ट खोलिदिने इच्छा छ – प्रकाशचन्द्र तिम्सिना, आफन्त

परिवारमा आइलागेको आपतबाट तंग्रिन खोज्दै थिइन्। एक दिन धनमायालाई गाईले हातमा हान्यो, घाइते भइन्। स्थानीय एक वैद्यले जडीबुटी लगाइदिए। तर, धेरै समय जडीबुटी बाँधेपछि उनको हात नै चुँडियो।

दाजुहरुको मृत्युपछि परिवार धान्ने जिम्मेवारी दुर्गाप्रसादको काँधमा आएको थियो। ‘बुबा खसेपछि घरमा दुःख भयो बाहिर जान्छु, कमाएर आउँछु भन्ने गरेको रहेछन्’ शर्माले सुनाए, ‘१९ वर्षको छँदा मंगलबारेमा तोरी बेचेर आएको पैसा बोकेर दार्जीलिङतिर काम खोज्दै गएछन्।’

त्यसबेला मंगलबारेमा दुर्गाप्रसादका भिनाजुको घर थियो। उनीहरुले दुर्गाप्रसादलाई मंगलबारे बजारमा देखेका थिए। तर, अरु बेला पनि खासै नबोल्ने उनी त्यसदिन किन हो छलिंदै हिंडेका थिए। अहिले जस्तो सञ्चार सुविधा थिएन। एक, दुई दिन घर नआएपछि परिवारका सदस्यले भारततिर कमाउन गयो होला भन्ने ठानेर खोज्न छाडे।

त्यसबेला पूर्वी नेपालको सीमापारि भारतमा गोर्खाल्याण्ड आन्दोलन थियो। नेपाली मूलका व्यक्ति मारिएको खबर सुन्दा वारि परिवारका सदस्यहरु झस्किरहन्थे। तर, धनमाया चाहिं छोरा घर फर्किने आशमा बसिरहिन्। अदुवा, आलु रोपेर आएको पैसाले जसोतसो गुजारा चलाइन्, छोराछोरी हुर्काइन्। ‘एकदिन त छोरा आइहाल्छ भन्ने थियो’, ४० वर्षपछि अनुहारमा मुजा पार्दै धनमायाले भनिन्, ‘कमाउन गएको थियो, आयो।’

उनलाई आश थियो, छोरा आएपछि परिवारको दुःख हटेर जानेछ, सुख मिल्नेछ। यही सोचमा चार दशक बिताएकी आमाले सोमबार दुर्गाप्रसादलाई देखिन्। तर, सोचेझैं दुर्गाप्रसाद सुख बोकेर आएका थिएनन्। बरु आफैं अरुको सहारामा बाँच्नुपर्ने अवस्थामा घर फर्किएका थिए। र, चार दशकपछि दुर्गाप्रसाद घर आउँदा उनले पहिले देखेका सपनाहरु मरिसकेका थिए।

काम्दै गरेको अवस्थामा सोमबार अपरान्ह दुर्गाप्रसादलाई देखेपछि धनमायाले भनिन् ‘खोइ बोल्दैन, बिरामी पो भएछ कि क्या हो !’

प्रकाशित मिति: : 2021-03-24 19:01:00

प्रतिकृया दिनुहोस्