अहिले भारत के चाहन्छ नेपालमा ?

शिलापत्र

काठमाडाै‌ं

याेगेश ढकाल

सर्वोच्च अदालतले २३ फागुनमा जब नेकपा एकता नै बदर हुनेगरी फैसला जारी गर्‍यो, त्यस दिन भारतसँग विशेष सम्बन्ध भएका वा भारतीय लाइन बुझ्नेहरू अस्वाभाविक खुसी देखिन्थे ।

फैसलाको साँझ जसपाका एक नेताले शिलापत्रकर्मीसँग भनेका थिए ‘सम्भवतः २३ फागुनको सर्वोच्चको फैसला भारतीय प्रयास र रुचीमा भएको हुनुपर्छ, दिल्लीसँग नजिक मानिएका व्यक्तिहरूको अस्वाभाविक खुसीले त्यही संकेत गर्छ ।’ 

फैसला यताका तीन सातामा राजनीतिक परिदृश्यमा जसरी खेल खेलिदैछ, त्यसले त्यही संकेत गर्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले यहीबीचमा आफूनिकटसँग बारम्बार भन्ने गरेका छन्, बुझ्नोस् न दबाब छ । त्यो दबाब के हाे, संकेतसम्म बुझ्न सकिन्छ । माओवादी केन्द्र, एमालेको माधव नेपाल र झलनाथ खनाल समूह मात्र होइन, जसपा र कांग्रेसको एउटा पंक्ति सभापति देउवालाई प्रधानमन्त्री स्वीकारेर  ओलीको विकल्प खोज्न राजी छन् तर देउवा तयार देखिँदैनन् ।

देउवाले आफूनिकटसँग अर्को सन्दर्भ पनि उप्काउने गरेका छन्, ‘खै, भारतीय राजदूतले कुनै संकेत गरेका छैनन्, अनि कसरी अगाडि बढ्ने ?’

हुन पनि संसद् पुनर्स्थापनालगत्तै बत्तीसपुुतलीको अनुपम पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा सभापति देउवा आउनुभन्दा पहिला नै भारतीय राजदूत विनयमोहन क्वात्रा निस्केका थिए । सांकेतिक त्यो सन्दर्भले बताउँछ कि भारत तत्काल ओलीको विकल्प खोजिरहेको छैन । 

कांग्रेसले बुझेको सत्यचाहिँ निर्वाचन आयोग, अख्तियार, अदालत, सुरक्षा निकाय र राज्यशक्तिको स्रोतसहित सबै सेटिङ मिलाएका ओलीसँग निर्वाचनमा सहभागी हुन गाह्राे छ । त्यस्तो निर्वाचन आफ्नो पक्षमा नहुन सक्छ भन्ने आकलन गरेको कांग्रेस ओलीको विकल्प खोज्नचाहिँ डराइरहेको छ । कूटनीतिज्ञ मिलन तुलाधर प्रधानमन्त्री ओली र देउवाको सेटिङ मिलिरहनुको पछाडि दक्षिणी लाइन प्रधानमन्त्री ओलीतिर जोडिनुसँग ठान्छन् । अर्थात, भारत अहिले ओलीको विकल्प तत्काल खोज्ने पक्षमा देखिदैन्, जसका कारण कांग्रेस, माओवादी केन्द्र र जसपा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्दैनन् । 

प्रकाशित मिति: : 2021-03-24 18:11:00

प्रतिकृया दिनुहोस्