शैलेन्द्र थापा
चार दशक लामाे जेलजीवनपछि इलामका दुर्गाप्रसाद तिम्सिना आफ्नो जन्मथलो इलाम फर्किएको खबरले याे साता सञ्चारमाध्यम छपक्कै भयो । ६१ वर्षीय दुर्गाप्रसाद घरबाट हराउँदा जम्मा २० वर्षका रहेछन् । लामो जेल बसाइको कारुणिक शब्दचित्र पढेर उनले भोगेका पीडा सहजै अनुमान लगाउन सकिन्छ ।
यता ४० वर्षदेखि हराएकाे छोराकाे मुख आमा धनमायाले ८६ वर्षको उमेरमा देख्न पाइन्, जुन स्वयम्मा राेचक हाे । लामो समयपछिको पारिवारिक पुनर्मिलन र खुसी पक्कै शब्दमा उतार्न सकिने खालको छैन । मानसिक रूपमा कमजोर र लामो जेल बसाइले हुनुपर्छ, दुर्गाप्रसाद खुलेर बोल्न सक्ने अवस्थामा छैनन् ।
उनी कसरी फर्किए, कति संघर्ष गरे ? अनि छोराको प्रतीक्षामा कति हजार रात/दिन ती बुढी आमाले बिताइन् ? ती सबै महसुस गर्न सकिन्छ । दुर्गाप्रसाद जेलबाट छुट्दै गर्दा देखिएको र घर पुग्दासम्मका प्रत्येक तस्वीरमा मेरा नजर परे । उनी जेलबाट छुट्दा सेतो पाइजामा र सर्टमा देखिन्छन् । घर पुगेर आमालाई भेट्छन् । जाेकाेहीकाे मथिङ्गल हल्लाउने दुर्गाप्रसादका दारुण चित्र त छँदै छन्, ४० वर्षपछि आमाछाेराकाे मिलन भएकाे तस्वीरले मेराे ध्यान खिच्याे । सञ्चारमाध्यममा छापिएको साेही तस्वीरले मलाई फरक कोणबाट यो लेख लेख्न प्रेरित गर्यो ।
तस्वीरमा ढाका टोपी, ढाकाकै खादा र नीलो सर्ट लगाएका दुर्गाप्रसाद चुपचाप छन् भने ८६ वर्षीया आमा धनमाया छोराको अनुहार हेरेर हाँसेकी छिन् । मैले ती वृद्धा आमाले लगाएको कपडा हेरेँ । रातो ऊनीको टोपी, सम्भवतः चोलो हुनुपर्छ, त्यो पनि रातो रङको छ, रातै खादा अनि सयपत्रीको माला लगाएकी छिन् ती आमाले । बस्, यही हो मेरो तस्वीर हेराइ र गहिरो सोचाइ ।