पर्यटकका लागि हटेन क्वारेन्टिन, भिसा प्रक्रिया पनि यथावत

अनलाइनखबर

काठमाडौं

गत शुक्रबार एमाले निकट पर्यटन व्यवसायी र कार्यकर्ताले एक खबर सामाजिक सञ्जालमा भाइरल गराए।

जसमा भनिएको थियो, ‘सरकारले नेपाल आउने विदेशी पर्यटकका लागि क्वारेन्टिन हटायो, अनअराभइल भिसा पनि पाइने, अब पर्यटक आगमन सहज हुन्छ।’ यसको नेतृत्व गरेका थिए नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले। उनले भनेका थिए, ‘मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो।’

उनको पोष्टलगत्तै केही सञ्चारमाध्यमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उदृत गर्दै क्वारेन्टिन हटेको खबर छापे।

त्यसपछि मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ भट्टराईलाई यसबारे धेरैको चासो आउन थाल्यो। उनी स्वयम्ले मन्त्री ढकाललाई के निर्णय भएको हो भनेर सोधे।

उनीसँग पनि ढकालले मन्त्रिपरिषदबाट क्वारेन्टिन हटाउने निर्णय भएको नै हो भन्ने जानकारी गराए। तर, मन्त्रालयमा मन्त्रिपरिषद्को पत्र भने आएको थिएन।

सोही कारण मन्त्रालयका उच्च अधिकारी भने मौन बसे। आइतबार जब सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय पढे, त्यसमा भने पर्यटकको आगमन तथा भिसासम्बन्धी कुनै महत्वपूर्ण निर्णय भएको उल्लेख छैन।

प्रकाशित मिति: : 2021-03-23 15:14:00

प्रतिकृया दिनुहोस्