टवलस्थित अस्पतालको बेड नम्बर १५९ । किशोरी उर्मिला चौधरी (नाम परिवर्तन) अर्धचेत अवस्थामा पल्टिरहेकी छन् ।
अस्पतालको दोस्रो तल्लामा आमा र दिदीले उर्मिलालाई ढाडस दिएर बेडबाट बिस्तारै उठाउँदै पछाडिपट्टि सिरानीमा अडेस लगाएर घरीघरी बसाल्छन् ।
बोल्न खोज्छिन्, तर बोली रोकिन्छ । सम्हालिन नसकेर घरिघिर रुन्छिन् । घाँटी अड्याउन प्रयोग गरिएको सपोर्टले उनलाई अप्ठ्यारो भइरहेको प्रस्ट देखिन्थ्यो ।
वरिपरि बेडका बिरामी र उनीहरूको कुरुवाको ध्यान पनि उर्मिलातिरै छ ।
आफूलाई यो अवस्थामा पुर्याउने व्यक्ति प्रहरीको एक जवान भएको उनी बताउँछन् । जनताको सुरक्षामा खटिनुपर्ने रक्षक नै भक्षक भएपछि उनलाई अब जीवनमा कुनै इच्छा र अपेक्षा नै छैन ।
मरी भनेर फालेको अवस्थामा बाँचेर अस्पतालको बेडसम्म आएकोमा खुशियाली मनाऊँ या पश्चाताप गरूँ ? भन्नेमा अन्यौलमा छिन्, उनी । ‘मरी भनेर फालेको थियो, नबाँचेको भए आनन्द हुने थियो,’ उनले रुँदै भनिन् । बिर्सुंभन्दा पनि उनको दिमागमा पटक–पटक त्यो कालो क्षण घुमिरहन्छ ।
उनको अस्मिता लुट्ने त्यो प्रहरी जवान अहिले इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा छ । कारवाही कसरी अघि बढ्यो भन्नेमा उनी जानकार छैनन् ।