कोभिडका बिरामीहरू बढ्न थालेपछि जर्मनमा आंशिक लकडाउन कडा पारिदै

 यूरोपमा कोभिडका फरक तथा जटिल खालका बिरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन्।

विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझावका आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी २ महिना नियन्त्रणका उपायहरूलाई लागू गर्ने अनुमान अधिकारीहरूले गरेका हुन्।

जर्मनीले गत फेब्रुअरीमा लामो समयदेखि बन्द विद्यालयलाई खुलाउने घोषणा गर्दै क्रमशः अन्य क्षेत्रलाई पनि क्रमशः सामान्य अवस्थामा फर्किने व्यवस्था गरेको थियो। तर तेस्रो लहरको सङ्क्रमण फैलिएपछि उद्योग तथा व्यवसायलाई बन्द गर्ने तयारी गरिरहेको बुझिएको हो। यद्यपि मर्केलले यस विषयमा अन्तिम निर्णय लिनुपूर्व सोमबार क्षेत्रीय सरकार प्रमुखहरूसँग भेट गर्ने बताएका छन्। 

आइतबार सार्वजनिक तथ्याङकमा विगत ७ दिनमा जर्मनीमा प्रतिएक लाख जनसंख्यामा १०३ व्यक्ति संक्रमित भेटिएको बताइएको छ। यसैबीच, यूरोपका अन्य २ मुलुक फ्रान्स र पोल्याण्डमा पनि फेरि आंशिक रुपमा लक डाउन लागू गरिएको छ। कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेपछि आंशिक लक डाउन लागू गरिएको हो।

राजधानी पेरिससहित फ्रान्सका १६ स्थानमा महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि आंशिक लक डाउन लागू भएको हो। यसबाट २ करोड १० लाख मानिस प्रभावित भएका छन्। पोल्याण्डमा पसल, होटल तथा खेलकुद र साँस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्रहरु प्रभावित भएका छन्। ३ हप्तासम्म पोल्याण्डभर लकडाउन लागू हुनेछ। रासस

प्रकाशित मिति: : 2021-03-22 15:23:00

प्रतिकृया दिनुहोस्