उन्नती चौधरी
स्कूल जाँदा प्रकाश दर्जीसँग राम्रो लुगा थिएन। बाल्यकालमा पनि राम्रो लुगाएको याद छैन उनलाई। अझ उनका हजुरबुवा तथा बुवा भने अरूका लागि नयाँ लुगा तयार पारिरहेका हुन्थे।
बुवा–बाजेले सिलाइ पेशा गर्दाको पीडा देखे-भोगेका प्रकाश सोच्थे, ‘म त यो काम कहिल्यै गर्दिनँ।’ त्यही पीडाबोधले उनलाई पुर्ख्यौली पेशालाई फरक तरिकाले अघि बढाउन प्रेरित गर्यो। सुदूरपश्चिमको बझाङबाट महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं पुग्दा उनले सिलाइको कामलाई नै 'ब्रान्ड' बनाएका छन्। धनगढीमा यसलाई उनले ‘सुटगढी’ नाम दिएका छन् भने काठमाडौंमा ‘सुटमान्डु’ बनाएका छन्।
उनी डेढ दशकमै कैयौंलाई रोजगारी दिने व्यवसायी त बनेका छन् नै, आफू पनि लाखौं आम्दानी गरिरहेका छन्। यो कसरी सम्भव भयो? प्रकाशको छोटो उत्तर छ, “पुर्ख्यौली पेशालाई आधुनिकतासँगै जोडेर व्यावसायिक बनाएँ।”
बाली प्रथा छोडेर ज्याला
५२ वर्षीय प्रकाशको पुर्ख्यौली घर बझाङ हो। उनका हजुरबुवा र बुवा गाउँभरिका सिउँथे। त्यसको बदलामा अन्न बाली पाउँथे। उनी सम्झिन्छन्, “हजुरबुवाले बाली लिएर गाउँभरिको लुगा सिउनुहुन्थ्यो। जुन वेला बाली प्रथाको चलन थियो।”
त्यति बेला दुई दाजुभाइ छुट्टिंदा गाउँ नै भाग लाग्थ्यो। गाउँका कसको लुगा कुन कसले सिउने भन्ने तोकिने गरेको उनी बताउँछन्। त्यसबापत पाकेको वेला अन्न बाली पाउँथे।
त्यो कामले हजुरबुवा र बुवाले अवहेलना पनि खेप्नुपरेको उनले देखेका थिए, महसुस गरेका थिए। उनी भन्छन्, “म सानो हुँदा बुवाले सुनाउनुहुन्थ्यो, सिलाई पेशा भएकै कारण अछूत बनाइएका थियौं, धारामा पानी भर्न पाइँदैनथ्याे, छुन पाइँदैनथ्याे।” तर, उनीहरूले सिएका लुगा कपडा भने चल्थे।
त्यसले दैनिकी चलाउन मुश्किल भएपछि २०४२ सालमा प्रकाशका आमाबुवा बझाङको कँडेल गाउँ छोडेर तराईको कञ्चनपुर झरे। उनी पनि आमाबुवासँगै तराई पुगे। त्यहाँ पनि दैनिकी सहज बन्न सकेन। “हाम्रो १५ जनाको परिवार थियो, बुवाको कमाइले मुस्किलले पुग्थ्यो,” प्रकाश सम्झिन्छन्।