सिसा व्यापारीको बदमासी : एमएम घटाएर कर छल्न खोज्दा परे फन्दामा

शिलापत्र

काठमाडौँ

तपाईंलाई लाग्छ महँगो मूल्य तिरेर कम मूल्यको कागज देखाउने कोही व्यापारी हुन्छन् ? सायद लाग्दैन होला । बरु कम मूल्यको सामानलाई फरक बिल बनाए महँगो देखाउने गरेको बजार अनुगमनका क्रममा भेटिने गरेको छ । 

तर, सिसाको आयातमा भने बढी मूल्य र परिणामको सामान लिएर कम मूल्यको बिल देखाउने गरेको भेटिएको छ । यसको उद्देश्य हो कर छल्नु । उपभोक्तालाई भने यी व्यापारीले आफूले किनेको मूल्यमा बिल फरक पारेर बढी मूल्यमा सिसा बेच्ने गरेका छन् । 

वास्तविकभन्दा कम ‘एमएम’ साइजको सिसाको बिल देखाएर वीरगन्ज सुक्खा बन्दरगाहबाट नेपाल भित्र्याउन खोज्दा चारवटा कन्टेर भन्सार कार्यालयको फन्दामा परेका छन् । डेढ वर्षअघि धागोमा व्यापारीले यस्तै बेइमानी गरेका थिए । त्यस बेला व्यापारीले कटनको धागोलाई साधारण धागो भनेर कम मूल्यांकन गरेर भन्सार जाँचपास गराउने प्रयास गरिएको थियो । डेढ वर्षपछि सिसा भित्र्याउँदा पनि व्यापारीले त्यस्तै बेइमानी गरेका छन् ।

कम मूल्यांकन गरेर सिसा ल्याइएका भेटिएपछि ईसीएमयू २०६४३७२२ जी १ र टीईएमयू ३६८१२४२२ जी १ नम्बरका कन्टेनरको भन्सार पास  रोकिएको छ । अन्य दुईवटा कन्टेनरमा पनि कम मूल्यांकन गरी सिसा ल्याइएको पाइएको छ ।

तिरुपती ग्लास र न्यु बालाजी ग्लासले भन्सार पास गराउनका लागि एजेन्टमार्फत भन्सार अधिकृतलाई बुझाएको कागजात अध्ययनका क्रममा उनीहरूको कर छलीको नियत खुलेको हो । स्रोतका अनुसार वीरगन्ज सुक्खा बन्दरगाहमा ८० वटाभन्दा बढी सिसाका कन्टेनर आइपुगेका छन् । कर छली गर्ने नियत राखेको भेटिएपछि तीमध्ये चारवटा कन्टेनर कार्यालको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: : 2021-03-21 07:36:00

प्रतिकृया दिनुहोस्