खराब विकल्पको खोजी

एउटा व्यक्तिविरुद्धको मोर्चाबन्दीमै अनिर्णयको बन्दी बनिरहने कि देश र जनताका पक्षमा काम गर्ने ?

गोरखापत्र

काठमाडौं

सामयिक नेपाली राजनीतिमा सायद केपी शर्मा ओलीविरुद्धको सत्ता राजनीतिलाई एकमात्र लक्ष्य मान्ने समकालीन नेतामा पुष्पकमल दाहाल उर्फ प्रचण्ड अग्रपङ्क्तिमा पर्नुहुन्छ। ऐतिहासिक मित्रता र हिमचिम आकस्मिक शत्रुतामा परिणत हुँदा यस्तो हुन्छ। अझ प्रचण्डजस्तो तीन दशकभन्दा बढी प्राधिकार जमाएर बसेका नेतालाई अन्यको नेतृत्व कसरी स्वीकार्य होस् ? पार्टीमा व्यक्तिको हैसियत देखाएर ओलीलाई पहिलो अध्यक्ष नमान्दा अर्को सीपी मैनाली बन्ने खतरा पनि थियो प्रचण्डलाई। त्यसो त राजनीतिमा स्थायी शत्रुता र मित्रता हुँदैन। सत्ताका लागि नाजायज थुप्रै सम्झौता गरिन्छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र (माओवादी केन्द्र) बीचको आश्चर्यजनक एकता हुँदा त्यसका दुई पाइलट नेकपा विघटनपछिको विछोडमा आरोप–प्रत्यारोप चलाइरहनुभएको छ। सानो पार्टीको अध्यक्ष अकस्मात् ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष हुँदा चुचुरो पुगेको प्रचण्ड महìवकाङ्क्षा फेरि आधार शिविरमै फर्केको छ। ओली आक्रामक र प्रचण्ड प्रतिरक्षात्मक अवस्थामा हुनुहुन्छ।
प्रचण्डको अहिलेको प्राथमिकता पहिलाको जस्तो दुईतिहाई मतको प्रधानमन्त्री बन्ने होइन, ठूलो पार्टीको कार्यकारी अध्यक्ष बन्ने पनि होइन, प्रधानमन्त्रीबाट ओलीलाई हटाउनेमात्र रहेको छ। त्यो पनि आफ्नो हैसियतले नभ्याउने भएपछि ओलीबाहेक जसलाई पनि निःशर्त प्रधानमन्त्री बन्न प्रस्ताव राख्ने तहमा सीमित भएको छ। पीडा कस्तो छ भने प्रचण्डले आफ्नो प्रस्ताव स्वीकार्ने व्यक्तिसमेत फेला पार्नुभएको छैन। आफू र आफ्नो पार्टी सकियोस् तर ओलीलाई विस्थापित गर्छु भन्ने दुःखकै कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत प्रचण्डले सक्नुभएको छैन। जसलाई हटाउनुछ, उही व्यक्तिलाई समर्थन गरिरहनुपरेको छ। चार महिना पर्खन नसक्दा आफ्नो यस्तो हालत भएको उहाँ अहिले स्मरण गर्नुहुन्छ वा गर्नुहुन्न, थाहा छैन।

प्रकाशित मिति: : 2021-03-21 06:26:00

प्रतिकृया दिनुहोस्