शरद ऋतुका पाँच छोटा कविता

शरद ऋतु

भक्तपुर

१. सुजाता

प्रचण्ड ज्वरले पुरिएका छन् आँखाहरू
युगका अनेकन् दावानल उभिएर थुनिएका छन् कानहरू
कैयन् धुपौरो आकाश टेकेर जो आएको छु,

बाटुलो चन्द्रमाजस्तो बटुको बोकेर
उभिएकी छैनौ तिमी कतै पनि...

म सिद्धार्थ
सोचेको थिएँ परदेशमै छोडेर आएँ मरुभूमि
म मूर्ख!
म आइपुग्नुभन्दा अघि नै
मरुभूमि घरमै आएर बसिसकेको रहेछ।

२.चुचुराहरू

चौरमा भकुण्डो खेलिरहेका
बालकहरू जस्ता थुम्का-थुम्कीहरू
उचाइको विरासत धानेर
आँखै टट्याउने गरी उभिरहेका महलहरू जस्ता चुचुराहरू

एकदिन बाढ आयो
उसले आफ्नो गीतको पहिलो अन्तरा सक्दा-नसक्दै
थुम्का-थुम्कीहरूले त्यो गीत आफ्नै बनाए,
चुचुराहरू कर्णपट सिसाले थुनेर उभिइरहे एकटक

अन्त्यमा,
बाढको हत्केलामा पछारियो आकाश
चुचुराहरू उचाइको इतिहास पखालेर कता बगे कता।

३.कथान्त

यही
मूलबाटो भएर गएको जुलुसको प्रतिध्वनि
अबेरसम्म गुञ्जिरह्यो बच्चाहरूका कान–कानमा
“जिन्दावाद! जिन्दावाद!”
“मुर्दावाद! मुर्दावाद!”

बेलुकी आमाले मायालु परीको कथा सुनाइन्
जसरी सुनाउँदै आएकी थिइन् कैयौं दिनदेखि
जसरी कैयौं दिनदेखि गइरहेथ्यो जुलुस

परीका, आकाशका, ईश्वरका सबै-सबै कथाहरू भनिसकिन् आमाले
भोलि पनि जानेछ जुलुस
साँच्चै
आमाले भोलि केको कथा सुनाउलिन्?

४.उज्यालोको यात्रा

घाम बोकेर जानेहरू
उज्यालो नभेट्दै अस्ताए

जसले उज्यालो भेट्यो
उसले घाम, जून र सिङ्गो आकाश यतै छोडेर
रित्तै हिँडेको थियो।

५.व्यथा

एक रात
जब धोएर टाँगिराखेका चिसा कपडाहरू
डोरीबाटै हराए,

अर्को रात
मैले स्वयंलाई टाँगिदिएँ डोरीमा

सहस्र रातहरू बिते
अहँ कोही आएनन्

तिमीलाई त मैले उहिलेदेखि
भन्दै आएको छु नि,
सुत्नुअघि झ्याल-ढोकाका चुकुलहरू राम्रोसँग कस्नू।
 

प्रकाशित मिति: : 2021-03-20 15:42:00

प्रतिकृया दिनुहोस्