पर्यटकको लागि सामुदायिक घरवास सञ्चालन

तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन गरिएको छ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन गर्न घरवास सञ्चालन गरिएको हो। 

पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरवास सञ्चालन गरिएको अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए।

पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालन थालिएको उनले बताए। कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरवास सञ्चालन गरिएको छ। उक्त घरवासमा ४० बास बस्न सक्नेछन्।

मगर, नेवार र दलितको बसोबास रहेको घरवासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्टलगायतका परिकार खुवाइने घरवास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिए। 

उक्त घरवासको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शुभारम्भ गर्दै ग्रामीण पर्यटनबाट समृद्धि सम्भव भएको बताए। उनले संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने आग्रह गरे। रासस

प्रकाशित मिति: : 2021-03-20 07:53:00

प्रतिकृया दिनुहोस्