जो गणितको दृश्य देख्छन् (भिडियोसहित)

दिलिप कुवँर

काठमाडौँ

मणिलाल कटूवाल (३०) -एक दृष्टिविहीन युवक। जसको आँखामा गणितका अदभुत् दृश्यहरु चलायमान भईरहन्छन्। 

०४७ सालमा काठमाडौँबाट सुदूरको भुगोल मानिने कालिकोटको विकट गाउँ (चिलखाया)मा उनको जन्म भयो।

जन्मदा उनका आँखा ठिकै थिए। आमाको अनुहार देख्थे। पहाडका चुचूरा देख्थे। आकाशमा उडेका चराहरु देख्थे। घरको आँगनमा खेल्थे। उफ्रिन्थे। बाख्राका स–साना पाठाहरुसँग दौडिन्थे। तर, उनको त्यो मिठो बचपन लामो समय टिक्न सकेन। 

जब उनी ४ वर्षको भए, तब विस्तारै उनको आँखामा सामान्य तवरले चिलाउने समस्या देखिन थाल्यो। बचपनको स्मृतीलाई सम्झदै उनी भन्छन्, ‘म र मेरो परिवारलाई  लागेकै थिएन, सामान्य चिलाउने समस्याले जिवनभरीको लागि आँखाको ज्योती गुमाउनु पर्ला भनेर।’

त्यतिबेला कालिकोटमा राम्रो अस्पताल थिएन। उपचारको कुनै विकल्प थिएन। गाउँभरीमा थिए त केवल एक झाँक्री, जो चिकित्सक सरह मानिन्थे। मणिलालको आँखामा सामान्य चिलाउने समस्या देखिएपछि उनको परिवारले उनलाई झाँक्री कहाँ लिएर गए। तर त्यो प्रयास सफल भएन। उनी आँखा चिलाएको एक वर्षभित्रै पूर्ण ज्योती गुमाएर दृष्टिविहीन बन्न पुगे। 



थबाङ : जहाँ गाउँलेहरु एक-अर्कालाई 'कमरेड' भनेर सम्बोधन गर्छन् (फोटो फिचर)



त्यो दृष्टिविहीन बन्न पुगेको घटनालाई जिवनको सबैभन्दा ठुलो विडम्बनाको संज्ञा दिदै उनी भन्छन्, ‘त्यो चार पाँच वर्षमा  मैले जे देखे, ती अन्तिम पटक देखे। देख्नुपर्ने धेरै बाँकी थियो।’

पूर्णरुपमा दृष्टिविहीन भइसकेपछि मणिलाललाई अध्याँरो जिवनको आदत बसाल्न निकै गाह्रो भयो। जतिबेला उनी बच्चै थिए। खेल्ने उमेर, दौडिने उमेर, बा(आमालाई सताउने उमेरमा उनको लागि साँझ,बिहान र रात उस्तै बन्न पुग्यो। 

उनलाई ती बचपनका स्मृतीहरु खासै याद त छैन। तर उनी मस्तिष्कलाई जोड दिदै भन्छन्, ‘म बच्चै थिए। खासै याद त छैन। तर ज्योती गुमाउदा सुरुमा धेरै अफ्ठ्यारो हुदो रहेछ। दिन भएको, रात भएको थाहै नहुने।’ 

विस्तारै उनी ठुलो हुदै गए। उनलाई नयाँ–नयाँ कुराको आदत लाग्न थाल्यो। छकालै गाउँमा भाले बाँस्दा उनलाई बिहान भएको थाहा हुन्थ्यो। घर आसपासका रुखहरुमा चराहरु शान्त हुँदा साँझ भएको थाहा पाउथे। उनी सम्झन्छन्, ‘गाउँमा छकालै भाले बाँस्थ्यो। अनि उज्यालो हुन लाग्यो भनेर थाहा पाउथे। साँझ चरा कराउन छाडेपछि रात पर्न लाग्यो भनेर थाहा पाउँथे।’

उनको त्यही पुरानो आदतले अहिले जीवनमा नयाँ आयाम चलिरहेको छ। 



दयाहाङ र बुद्धिसँगको भेटपछि फेरिएको विजयको यात्रा [भिडियोवार्ता]



आजकाल उनी भक्तपुरको सानोठिमीस्थित सानोठिमी क्याम्पसको छात्रवासमा बसिरहेका छन्। उनले सानोठिमी क्याम्पसबाटै स्नातक चौथो वर्षको परिक्षा सकाइसकेका छन्।  

अहिले पनि सानोठिमी क्याम्पसको छात्रवास वरपर रहेका रुखहरुमा बिहानै चरा कराउन थालेपछि उनलाई उज्यालो भएको थाहा हुन्छ। उनी भन्छन्, ‘अचेल काठमाडौँ आईसकेपछि पंछी र किरा फट्याङ्ग्राहरु कराएको आवाजबाट साँझ र बिहान भएको छुट्याउन सजिलो भएको छ।’

गणितका प्राकृतिक संख्याहरुसँग पनि मणिलालको गज्जबको सम्बन्ध छ।

छात्रवासका भुँईमा उनका पैतालाहरुको कलात्मक पदचाप बसेका छन्। उनी आफ्नो कोठाबाट ४३ पदचापमा शौचालय पुग्छन्। शौचालयबाट १३ पदचापमा छात्रावास भित्रै रहेको टेबल टेनिसको कोर्टमा पुग्छन्। ५८ पदचापमा धारा पुग्छन्। प्रत्येक १७ पदचापमा छात्रवास भित्रको गल्लीहरुमा मोडिन्छन्। र ९३ औँ पदचापमा छात्रवासको गेटमा पुग्छन्। उनी त्यो पदचापको संख्या मनमै गन्छन्। उनी भन्छन्, ‘बसिरहेको ठाउँमा त अनुमान गर्न सजिलो हुन्छ। तर नयाँ ठाउँमा थाहा हुदैन। सहयोगी चाहिन्छ।’

उनलाई सुन्दरता र कुरुपतासँग कुनै लेनदेन छैन। उज्यालो र अध्याँरोसँग कुनै कारोबार छैन। 

प्राय मानिस रङ हेरेर कपडा किन्छन्। तर उनलाई छुटै आदत छ, ‘म छामेर किन्छु। छाम्दा चिप्लिने कपडाहरु कहिल्यै किन्दिन। प्राय मुलायम लाग्ने कपडाहरु किन्छु। कहिलेकाहि खस्रो लाग्ने कपडापनि राम्रो लाग्छ।’



'गीत र कविताको जन्म संवेदनाबाट हुन्छ' (भिडियो)



मणिलाल चलचित्रलाई घण्टौसम्म सुन्छन्। र सुनेर दृश्य कल्पना गर्छन, 
‘चलचित्रको आवाज सुनेर दृश्यहरु कल्पना गर्छु। कल्पना गरिएका दृश्यहरु चलचित्रमा देखाईएका भन्दा सुन्दरपनि हुन सक्छन्। र खराब पनि।’

मणिलाल कहिलेकाही मार्केटिङ पनि गर्छन्। बजारभरी डुल्छन्। किर्तीपुरमा रहेको अगरबत्ती उद्योगबाट रु ५० मा एक पत्ता लिन्छन्। र बजारमा लगेर रु १०० मा बेच्छन्। बजारमा हिड्दा उनलाई सडकपेटीमा जथाभावी पार्किङ गरिएका सवारी साधनले सामस्यामा पार्छ। उनी भन्छन्, ‘मानिसहरुले सडकपेटीमा जथाभावीमा सवारीसाधन पार्किङ नगरिदिए हुन्थ्यो।’

त्यस्तै उनी विभिन्न सरकारी कार्यालयमा जादा नागरिक वडापत्र पढ्न समस्या हुन गरेकोपनि बताउछन्। उनी गुनासो गर्छन, ‘दृष्टिविहीनहरुको लागि ब्रेललिपी वा रेर्कडेडमा  नागरिक वडापत्र राखिदिए सजिलो हुन्थ्यो।’

प्रकाशित मिति: : 2021-03-18 16:43:00

प्रतिकृया दिनुहोस्