सरकारी प्रतिबन्धले ६० लाख क्युफिट काठ १० महिनादेखि वनमै अलपत्र

सरकारी प्रतिबन्धका कारण लाखौँ क्युफिट काठ १० महिनादेखि वनमा अलपत्र परेको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका वनमा काटिएको करिब ६० लाख क्युफिट काठ गत जेठदेखि उठ्न सकेको छैन। 

कोभिड-१९ का कारण चैतदेखि नै काठको बिक्री र ओसारपसार ठप्प छ। वैज्ञानिक वनका नाममा अनियमितता र फँडानी भएको भन्दै सरकारले १५ जेठदेखि प्रतिबन्ध लगाएको थियो।

हाल वैज्ञानिक वनबाहेकमा कटान भएको काठ बिक्रीका लागि खुला भइसकेको छ। उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनका आधारमा ११ माघको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरे पनि कटान भएको काठका विषयमा कुनै निर्णय गर्न सकेको छैन। वैज्ञानिक वनबाहेकमा सुक्खा, खडा र ढलापडा काठ कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव भने पेस भइसकेको छ। 

प्रकाशित मिति: : 2021-03-17 20:09:00

प्रतिकृया दिनुहोस्