निहत्था बर्मेलीमाथि सैन्य बर्बरताकाे कथा पढ्नुहाेस्, अनि नेपाल किन माैन भनेर सरकारलाई साेध्नुहाेस्

शिलापत्र

काठमाडाैं

 भोजराज दाहाल

अघिल्लो दिन सहकर्मी मारिएको खबरले स्तब्ध उनले सामाजिक सञ्जालमा लेखेका थिए, 'म आशा गर्छु, 'यो क्रान्ति सकिएपछि र आतङ्क हटेपछि एक दिन विद्यालयहरू खुल्नेछन् र म कक्षाकोठामा मेरा विद्यार्थीहरूसँग फेरि भेट्न पाउनेछु, उनीहरूले एउटा शिक्षकलाई गुमाएजस्तो मैले मेरा विद्यार्थी गुमाउन नपरोस् ।'

भोलिपल्ट बिहान याङ्गुनमा शिक्षकहरूले सैनिक सत्ताविरुद्ध प्रदर्शन गरे । उनी प्रदर्शनको अग्र मोर्चामा  थिए । 

शनिबार बिहान घरबाट निस्कनुअगाडि ४३ वर्षीय न्वेत् यीले आफ्नी सानी छोरीलाई बेस्सरी कसेर अँगालोमा  राखे, श्रीमतीसँग बिदा मागे र दायाँ पाखुरामा फोन नम्बर र ब्लड ग्रुप लेखे । उनलाई थाहा थियो, यो राज्य आतङ्कबाट कोही सुरक्षित छैन । 

याङ्गुन रणभूमिजस्तै बनेको थियो, पुलिसले एकै पटक ग्रिनेड, अश्रुग्यास र गोली बर्सायो । केही बेरमा मिडियामा केही घाइते प्रदर्शनकारीहरूको तस्वीर आयो । छातीमा गोली लागी अस्पताल ल्याइएका दुई जनाको मृत्यु भएको थियो । भीड तितरबितर भएपछि केही मिडियामा म्यानमारको प्रहरीले एउटा घाइतेलाई घिस्याउँदै गरेको तस्वीर सार्वजनिक भयो । केही बेरमा उनका अरू सहकर्मी र उद्धारकर्ताहरूले भेट्दासम्म धेरै ढिला भइसकेको थियो ।अलि पर उनको चस्मा र घडी सडकमा रगताम्मे फेला पर्‍यो । 'पुलिसले शिक्षकहरूको प्रदर्शनमा ग्रिनेड र स्टेनगनले एकै पटक आक्रमण गर्‍यो,' उनकी छोरी र एक सहकर्मीले भने ।

भोलिपल्ट उनको समाधिमा एउटा रातो गुलाफको फूल चढाउँदै उनका एक विद्यार्थीले तीन औँलाले सलामी दिएको तस्वीर सार्वजनिक भयो ।

हजारौँ चैत्यहरूको देश भनेर चिनिने बर्माका चैत्यहरूका आँगनमा यतिबेला रगतका राता छिर्काछिर्की देखिन्छन् । आफ्नो प्रजातान्त्रिक हक अधिकारको लडाइँमा जानेहरू  घरबाहिर निस्कनुअघि आफ्ना सन्तानलाई धित मरुञ्जेल अँगालो हाल्छन् र पाखुरामा आफ्नो फोन र ब्लड ग्रुप खोपेर बिदा माग्दै निस्कन्छन्  ।

प्रकाशित मिति: : 2021-03-17 17:45:00

प्रतिकृया दिनुहोस्