सांसदको आतेजातेमा मात्र १ करोड ६९ लाख खर्च !

लोकान्तर

काठमाडाैं

अजय अनुरागी

संघीय सांसदहरूको प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको छ। संसद्को अधिवेशन आह्वान भएका बेला संसद् बैठकमा उपस्थित हुनका लागि आउने तथा अधिवेशन अन्त्य भएपछि गृहजिल्ला फर्किने बेला प्लेन वा गाडी भाडाबापत हालसम्म उक्त रकम खर्च भएको हो। 

संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार अधिवेशन आह्वान भएपछि प्रत्येक अधिवेशनमा १३ लाख ५५ हजार ९९६ रुपैयाँ टिकटबापत खर्च हुने गरेको छ । सोही रकम अधिवेशन सकिएपछि सांसदहरू घर फर्किने बेला खर्च हुने संसद् सचिवालयले जनाएको छ ।

लोकान्तरलाई प्राप्त भएको तथ्यांकअनुसार प्रतिनिधि सभाका कुल १ सय २६ जना सांसदले प्लेन टिकट वा गाडी भाडाबापत खर्च लिने गरेका छन् । प्रतिनिधि सभामा कुल १ सय २६ सांसदको एक तर्फको भाडाबापत १० लाख २७ हजार १ सय ६६ रूपैयाँ खर्च हुन्छ। आउदा र जाँदा गरेर २० लाख ५४ हजार ३३२ रूपैयाँ खर्च हुने गरेको छ ।

त्यसैगरी राष्ट्रिय सभामा कुल ४१ जना सांसदले प्लेन तथा गाडी भाडा पाइरहेका छन्। अधिवेशनमा सहभागी हुनका लागि आउने बेलामा ३ लाख २८ हजार ८३० रुपैयाँ खर्च हुने गरेको छ। आउदा र जाँदा ६ लाख ५७ हजार ६६० रूपैयाँ खर्च हुने गरेको छ। 

प्रकाशित मिति: : 2021-03-17 11:35:00

प्रतिकृया दिनुहोस्