शरीरमा कमिज–सुरुवाल, खुट्टामा चप्पल। ठूलो जीउडाल भए पनि हेर्दै कमजोर लाग्थ्यो।
वृद्धावस्थातिर प्रवेश गर्दै गरेको देखिने मानिस कोलकाताको दमदम केन्द्रीय कारागारका जेलरको कोठातिर प्रवेश गरे।
दायाँतिर लहरै राखिएका कुर्सीमा बसेका प्रकाशचन्द्र तिम्सिना, गोपाल तिम्सिना र इन्द्र बस्नेतले ढोकातिर पुलुक्क हेरे।
झण्डै ४० वर्षअघि हराएका प्रकाशका ठूलोबुबाका छोरा दुर्गाप्रसाद तिम्सिना (दीपक) अगाडि उभिएका थिए।
२०३४/३५ सालतिर गोठमा उनीसँगै सुतेको प्रकाशलाई मधुरो सम्झना छ। त्यसवेलाको अनुहार भने स्पष्टसँग याद छैन। ‘थोरै हो र, ४० वर्ष !’ आश्चर्यमिश्रित भावमा उनी भन्छन्।
साढे १९ वर्ष छँदा इलामको माई नगरपालिका–१० स्थित घरबाट दीपक निस्किएका थिए। त्यसपछि नफर्किएका उनी जीवित छन्/छैनन् अत्तोपत्तो थिएन। तर, हराएको ४१औं वर्ष १० फागुन २०७७ मा दुई आमनेसामने भइरहेका थिए।