पुरानै लयमा फर्किंदै शिक्षा : तर अझै बाँकी छन् यी अपेक्षा

लोकान्तर

काठमाडाैं

गोपीनाथ मैनाली

जनजीवनका सबै क्षेत्रलाई आक्रान्त पारेको कोभिड–१९ ले शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । विश्वभर मानव गतिविधिलाई स्तब्ध पारी मानव सभ्यतामाथि धावा बोल्ने महामारीबाट शिक्षा किन पनि बढी प्रभावित भयो भने विद्यालय जस्ता सिकाइस्थलहरू स्वभावैले बढी जमघट र भीडभाड हुने स्थान हुन् । 

कमजोर शैक्षिक तथा प्राविधिक पूर्वाधार भएको नेपाल यसबाट अछुतो रहने कुरै भएन । २०७६ चैत्र ५ गतेको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि सम्पूर्ण शैक्षिक अनुष्ठानहरू बन्द भए । सम्पूर्ण तयारी पूरा गरी सञ्चालनको क्रममा रहेको कक्षा दशको परीक्षा पनि हुन पाएन । सबै तहका गरी नब्बे लाख भन्दा बढी विद्यार्थीहरू विद्यालय/क्याम्पसबाहिर पुगे, घरभित्र बन्द भए तर जोखिममुक्त हुन सकेनन् । २ लाखभन्दा बढी शिक्षक शिक्षिका र कर्मचारीहरू, सयौं शैक्षिक परामर्श तथा तालिम केन्द्रहरू बन्द भए । 

उद्योग, कलकारखाना, उत्पादन तथा सेवा स्थल र आवतजावतका माध्यम बन्द हुनुभन्दा पनि शैक्षिक अनुष्ठान बन्द हुनुले दुई विशिष्ठ अर्थ उजागर गर्न पुग्यो । पहिलो, शिक्षालयहरू सबैभन्दा संवेदनशील मानिन्छन् । स–साना बालबालिकादेखि युवा विद्यार्थीहरू आ–आफनै स्तरमा भविष्य निर्माणका प्रक्रियामा आबद्ध रहन्छन् । उनीहरूको शिक्षा, सीप र सामर्थ्य विकासले नै आज समृद्ध बन्ने हो । 

दोस्रो, विद्यार्थीहरूमा रहने चुलबुलेपना, जान्ने कौतुहल, कुनै कुराको हुटहुटी बन्द हुँदा भविष्यको बाटो स्वतः छेकिन्छ तर कुण्ठा र निराशाको सम्भावना भने विस्तारित रूपमा खुल्न पुग्दछ । यी दुबै अर्थमा विद्यालयहरू बन्द हुँदा समाजको गति नै रोकिएको महशुस हुने नै भयो । 

प्रकाशित मिति: : 2021-03-15 13:23:00

प्रतिकृया दिनुहोस्