यो पंक्तिकारले धेरै अघि लेखेको थियो, 'ओली नेपालका गोर्वाचोभ हुन्। उनले नेपालमा कम्युनिष्ट कतिसम्म खराब हुन सक्छन् भन्ने दृष्टान्त पनि प्रस्तुत गर्छन् र कम्युनिष्ट पार्टी पनि सक्नेछन्। अरूको पार्टी मात्र हैन, अन्तमा आफ्नै पनि सक्नेछन्।'
मैले यो घोषणा त्यतिबेला ओलीकै समर्थन गर्ने दृष्टि साप्ताहिकको सल्लाहकार सम्पादककै हैसियतमा लेखेको थिएँ। स्तम्भको नाम नै 'विलोम' थियो, सेकेण्ड ओपनियन नै सही त्यतिबेला त्यही अर्थमा लेखिएको त्यो स्तम्भ चर्चित भएको थियो।
खासगरी ओली वृतका मानिसले अराजक र अतिवादी भनेर मेरो स्तम्भको खेदो खन्दै न्वारानदेखिको बल लगाएर गाली गरे। केहीले मेरो नाम दृष्टिको प्रिन्ट लाइनबाट हटाउन र स्तम्भ नै लेख्न नदिन प्रकाशक शम्भु श्रेष्ठलाई भनेका पनि थिए।
समयक्रममा मैले भविष्यवाणी गरेको त्यो सत्य तथ्यको धेरै नजिक पुगेको छ। यी पंक्ति लेखिरहेको बेलासम्ममा ओलीले एकीकृत नेकपा मात्र सकेनन्, नेकपा माओवादीका वादललगायतलाई जबर्जस्ती ओली-एमाले बनाएर माओवादी पनि टुक्रयाइदिए, हुँदाहुँदा एमाले पनि सके। अब सक्न केही बाँकि नै छैन, उनले त्यो सबै गरे, जे गर्दा नेपालमा कम्युनिष्ट पार्टी सकिन्थ्यो र आममानिसमा कम्युनिष्ट भन्दा वितृष्णा पैदा हुन्थ्यो।
ओलीले आफैं कम्युनिष्ट पार्टीको अध्यक्ष, संसदमा भारी बहुमतको प्रधानमन्त्री भएर मात्र हैन, आफ्नै गुटकी उपाध्यक्षलाई राष्ट्रपति बनाउनेलगायतका सारा तिकडम मिलाएर कम्युनिष्ट पार्टी सके। तर, विडम्वना अझै पनि उनी दुई-तिहाइ बहुमतका साथ ओली-कम्युनिष्ट पार्टीलाई सत्तामा फिर्ता ल्याउने गफ दिइरहेकै छन् । अझ गजबको कुरा त के भने ओलीले यसोभन्दा पोखरेल, पौडेल, ज्ञवाली, नेम्बाङ थरका जोजोम्यानहरू छेउमा बसेर थप्पडी मारिरहेका छन्।
आखिर यो सबै उनले किन गरे होला? यसको स्वभाविक अनुमान गर्न सहज छैन। डाक्टर गोविन्द केसीले एक प्रसंगमा भनेका थिए, 'ओलीले किड्नी फंक्सनका लागि जुन स्टेरोइड प्रयोग गरिरहेका छन्, त्यसले उनलाई एब्नर्मल बनाइरहेको हुन सक्छ।' स्वास्थ्य विज्ञानका जानकार डा. केसीले किड्नीलाई चलायमान बनाउन उनले प्रयोग गरिरहेको औषधीको एकहोरो सोच्ने र बनाउने खालको साइड इफेक्ट हुनेतिर संकेत गरेका थिए। हिजो आज ओली जे गरिरहेका छन्, त्यो सबै त्यही स्टेरोइडको साइड इफेक्ट हुन सक्छ। यतिबला उनी आफू जे सोच्छन्, त्यही मात्र ठीक हो भन्ने अवस्थामा पुगेका छन्। एउटा सामान्य मनस्थितिको मान्छेले यस्तो सोच्न र गर्न सक्दैन।
ओली यतिबेला प्रचण्ड र माधवलाई सक्ने एक सूत्रीय अभियानमा छन्, त्यसका लागि उनी जे पनि दाउमा लगाउने मुडमा छन्। त्यही क्रममा अहिले उनले एमाले नै दाउमा लगाएका हुन्। यो कौरवले द्रौपदीलाई नै दाउमा लगाउन प्रोत्साहित गरेजस्तो विडम्वनापूर्ण अवस्था हो। यहाँ ओली अमुक शकुनीको उक्साहटमा दुर्योधनको भूमिकामा छन्। पोखरेल, पौडेल, ज्ञवाली, नेम्बाङ थरका कौरवगण एमालेको चीरहरणका रमिते बनेका छन्।
विश्व कम्युनिष्ट आन्दोलनलाई नजिकबाट हेर्दा जहाँ जहाँ यो सकिएको छ, त्यहाँ त्यहाँ कम्युनिष्ट पार्टीकै नाममा, सत्तामै रहेको बेला धन्धुकारी पात्र जन्मेर सिद्ध्याएका छन्। ओली नेपालका लागि त्यस्तै एक धन्धुकारी पात्र हुन्। यसो भन्दा अझै पनि केहीलाई बढी लाग्न सक्छ तर यथार्थ योभन्दा फरक बाटोमा छैन। बाँकि त समय पर्खने हो, समय आफैं साक्षी बस्दै आउँनेछ।
यो पंक्तिकार ओलीजस्तैहरूको हातमा सत्ता पुगेको र यो रिले दौड आफ्नो जीवनकालसम्म रहिरहने सम्भावना देखेर परदेशिएको एक भुइँमान्छे हो। जनताभन्दा धेरै कार्यकर्ता भएको र तिनै कार्यकर्ताले जनताको नाममा रजाइँ गरेको मेरो मुलुकमा बाँच्ने अतिरिक्त कला नभएका मजस्ता भुइँमान्छेहरूको बोलीको सुनुवाइ हुदैन। यसै पनि सानाले बोले गफ र ठूलाले बोले महानवाणी हुने देश हो, समाज हो मेरो। हिजोआज मेरो देशले ठूलोको परिभाषा पनि फरक पाएको छ। जो छलकपट गरेर सत्ताको कुर्सीमा पुग्छन् र त्यो पदको दुरूपयोग गर्दै देश दोहन गर्छन्, हिजोआज मेरो देशका ठूला मान्छे उनै हुन्।
शक्ति र सत्ताको खालि ठाउँ हुदैन। एक नभए अर्को हुन्छ। जब कम्युनिष्ट सकिन्छन्, त्यो खाली ठाउँ भर्ने भनेको कांग्रेसले नै हो। यसका लागि अब कांग्रेसले कुनै गतिलो काम गर्नै पर्दैन, कम्युनिष्ट विरोधी ढ्वाँङ थापे पुग्छ। त्यसका लागि ओलीले गर्नुपर्ने जति किस्तावन्दीमा गरेर सहज बनाइदिएका छन्। पहिला नेकपालाई छाँसेर नेकपा एमाले र नेकपा माओवादी बनाइ दिए। त्यतिले पनि कांग्रेसलाई जित्न सहज नहुने देखेर एमाले छाँसेर नेकपा माधव-झलनाथ र ओली गुट बनाइदिए। अब केही दिनअघिसम्म नेकपा भनिएको कम्युनिष्ट पार्टीकै नाममा तीनवटा ढ्वाङ थापिनेछन्। यही ब्राण्डका आधा दर्जन जति ढ्वाङ त यसअघि नै छन्। ऋषि कट्टेलका नाममा कैद हुने पुगेको नेकपाको त कुनै पार्टी संयन्त्र नै छैन, उम्मेद्वार पनि पाउँदैन। कम्युनिष्टका नाममा भए/गरिएका यी सबै 'ओली-कुकर्म'ले कांग्रेसलाई खुदो पल्टिएको छ।
कुनै पनि अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई बाहिरी वस्तु ठान्दै त्यसविरुद्ध संघर्ष गर्न खोज्छ ।यस क्रममा शरीरको प्रतिरोधात्मक शक्ति कम गरी प्रत्यारोपित नयाँ अंग शरीरमा अभ्यस्त गराउने औषधि प्रयोग गरिन्छ । नौ बर्षअघि मृगौला प्रत्यारोपण गरिएपछि ओलीले इमिनोसस्प्रेस्यान्ट नामक त्यस्तो औषधि खादैआएका छन् ।
यो औषधि एक किसिमको ड्रग्स नै हो जसले आफ्नो सामर्थ्य भन्दा बढी गर्न सक्छु भन्ने भ्रम पैदा गरिदिन्छ । चिकित्सकीय भाषामा त्यसलाई मेक्लोमेन (Meclomen) भनिन्छ । ओली अहिले यसैको शिकार भएका छन् र उनी एकजना सामान्य मानिसले गर्नै स्वभाविक काम भन्दा पनि अस्वभाविक मानिसले गर्ने खालका गतिविधि गरिरहेका छन्। मुलुक अहिले ओली मेक्लोमेनको शिकार भैरहेको छ।
अहिलेको कांग्रेस वीपीको कांग्रेस हैन, शेरबहादुर देउबाको कांग्रेस हो जो ज्योतिषीले ६ पटक प्रधानमन्त्री बन्छस् भनेको भरमा राजनीतिक चाल चलिरहेका हुन्छन्। चारपटक प्रधानमन्त्री भएर के गर्यौ र अब दुईपटक हुँदा के गर्छौ ? भन्ने प्रश्नको कुनै उत्तर उनीसँग छैन, हुँदैन। न कांग्रेस नामको पार्टीले उनलाई सोध्न आवश्यक नै ठान्छ।
कांग्रेस मूलत: कुनै वाद, सिद्धान्त, मूल्य मान्यता भएको पार्टी हैन। यो कम्युनिष्टविरोधी बूढो रूखको ढ्वाङ हो। यसलाई कुनै योजना, कार्यक्रम पनि चाँहिदैन। यसको आफ्नै कम्युनिष्टविरोधी परम्परागत भोट ब्यांक छ। अधिकांश निर्वाचन क्षेत्रमा कम्युनिष्ट मिल्दा जित्दैन, नमिल्दा जित्छ। कम्युनिष्ट मिल्दा पनि नजित्ने उसका केही पकेट निर्वाचन क्षेत्र पनि छन् जहाँ रूख हैन, रूखको ठुटो उठाए पनि उसलाई जीत हात लाग्छ।
अब ढिलो चाँडो मुलक चुनावमा जान्छ। चुनावी मुद्दा त कोहीसँग पनि छैनन्। त्यसमा पनि कम्युनिष्टसँग त छँदै छैनन्। हिजो शान्ति र स्थायित्वको लागि मत मागेका कम्युनिष्टलाई झण्डै दुईतिहाइ मत दिने जनताले अब केका लागि उनीहरूलाई मत दिने? कम्युनिष्ट पार्टी फुटाएबापत, कम्युनिष्ट आन्दोलन सिद्ध्याएवापत वा कुशासनका लागि वा के का लागि मत दिने? जनताले उत्तर पाइसके पनि एक किसिमले अनुत्तरित भनिएका प्रश्न मात्र हुन्।
'लबस्तराको ओखती हुदैँन' भनेझै यिनीहरूलाई लाज हुने कुरै भएन। यिनीहरू फेरि एकातिर काम गर्न दिएनन् पनि भन्ने अर्कोतिर यो यो काम गर्यौ भनेर कामको पुलिन्दा पनि बाँध्ने द्वैध चरित्र लिएर मत माग्न जान्छन्। तर, जनताले उनीहरूलाई पत्याउनुपर्ने आधार छैन। जनता लाठो लिएर उनीहरूलाई सजाय दिन पर्खिरहेका छन्। यसै पनि नेपालमा चुनाव नयाँ जनमत लिनेभन्दा पनि जनताले बदला लिने मौकाका रूपमा लिने प्रवृति बढ्दो छ।
सारमा, नेपालमा राजनीति फेरि एकपटक भैसीको आहाल भएको छ। यो आहालमा सबै चोबलिएका छन्। प्रश्न को बढी चोबलियो भन्ने मात्र हो। पछिल्लो समयमा चाँहि यो आहालमा एउटा यस्तो नुन खाएर चटारिएको राँगो जाइलागेको छ जसले आहाल नै कब्जा गरेर सारा भैसीहरूको समीकरण बिगारिदिएको छ।
हामी परदेशमा बसेका नेपाली घरदेशमा भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेका छों। पछिल्ला घटनाक्रमले घरदेशमा फर्कन चाहनेको मन नराम्रोसँग कुडिएको छ। आखिर जे गरे पनि ओलीप्रवृति नासिनेभन्दा पनि झाँगिने अवस्थातिर मुलुक अगाडि बढेको छ। यस्तो अवस्थामा मुलुकमा फर्केर के गर्ने त? आखिर घरदेशमा होस् वा परदेशमा जहाँ बसे पनि हामीजस्ता भूइँमान्छेले त राजनीतिका नाममा सत्ताको नांगो नाच त हेर्नुपर्ने रहेछ। त्यो हेर्नका लागि घरदेश किन फकर्नु पर्यो र ?; परदेशबाटै हेर्न पाइएकै छ।