देउवालाई पौडेलले भने- ओलीसँग के लिनु छ र? ढलाइदिऊँ यो सरकार

सेतोपाटी

काठमाडाैं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउनुपर्ने बताएका छन्। 

उनले यो कुरा आज म्याग्दी पुगेर भनेका हुन्।

सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा पुगेर आफूले ओली सरकार ढलाउने अवसर आएकोले नछोड्न सुझाव दिएको पनि उनले बताए।

‘कम्युनिष्टहरूको बीचमा अहिले भाँडभैलो भइरहेको छ। उनीहरू अवसरवादी हुन्, कुनै विचारमा अडेका होइनन्,’ उनले भने, ‘उनीहरू कुनै सिद्धान्तमा पनि मिलेका थिएनन्। जब सत्तामा पुगे अनि भाग मिलेन लडाइँ सुरू गरे।’ 

प्रधानमन्त्री ओलीले पार्टीमा बहुमत गुमाएपछि एकपछि अर्को असंवैधानिक, अधिनायकवाद र निरंकुशता तर्फको यात्रा थालेको आरोप पौडेलको छ।

‘पार्टीमा बहुमत गुमाएपछि ओलीले प्रतिनिधि सभा भंग गरे। अधिनायकवादी चरित्र देखाए। तर हामीले विरोध गरेपछि प्रतिनिधि सभा पुनर्स्थापना भयो,’ पौडेलले भने।

उनले कम्युनिष्ट दुई टुक्रा भएका बेला ओली सरकार ढलाउने अवसर भएको पनि बताएका छन्।

‘अहिले कम्युनिष्ट दुई फ्याक्ट छन्। यही बेला ओली सरकार गुमाइदिऔं मैले भनेको थिएँ,’ देउवालाई गत शुक्रबार दिएको सुझावबारे उनले भने, ‘प्रचण्ड-माधव नेपाल, झलनाथ खनाल एकातिर, केपी ओली अर्कोतिर भएका बेला सरकार ढलाइदिऊँ भनेको त्यो अवसर फुस्कियो।’

प्रकाशित मिति: : 2021-03-14 18:57:00

प्रतिकृया दिनुहोस्