उबर चालक शोभाकर र अमेरिकामा नेपालीको नियति

केही दिनअघि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपालीमूलका उबर चालक शोभाकर खड्कामाथि इरानीमूलकी अर्ना किमाई र मलेसियालीमूलकी महिलाले दुर्ब्यवहार गरेको घटना यतिबेला डँढेलो सल्किएझै विश्वभरी फैलिएको छ।

खड्काको अगाडी खोक्ने, मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्नेलगायतका दुर्ब्यवहारले  अमेरिकामा अल्पसंख्यकमाथि कुन हदसम्म शोषण हुन्छ, त्यो पाटो फेरि उजागर भएको छ।

यस्ता घटना फाँट्टफुट्ट सतहमा आए पनि यो अधिकांश उबर चालकले अमेरिकामा भोग्नुपर्ने साझा समस्या हो। सानोतिनो हेपाइँको घटनालाई ठिकै छ भनेर सहने र सेतो छाला भएका मान्छेलाई ‘बिशेष’ देख्ने नेपाली मानसिकताको कारण यस्ता घटना हतपत बाहिर आउँदैनन्।

चालक खड्कालाई दुर्ब्यवहार गर्ने त्यी महिला पटकपटक बिभिन्न आरोपमा प्रहरीले पक्राउ गरेर सजाय भोगेर जेलबाट निस्केकी महिला भएको प्रारम्भिक प्रहरी अनुसन्धानमा खुलेको छ।



अमेरिकामा बसोबास गर्ने नेपालीको पाँच वटा चरित्र

अमेरिकामा नेपालीको तीन भ्रम



यो घटनालाई असामान्य मान्छेले गरेको बहुलठ्ठी व्यवहार भनेर बिर्सने हो भने पनि यस्तै मिल्दाजुल्दा घटना हुने कुरालाई भने नकार्न सकिदैन।

अमेरिकी कानुनअनुसार कुनै व्यक्तिले कसैलाई तिमी कुन देशबाट आएको भनेर सोध्नु नै गैरकानुनी मानिन्छ। यस्तो प्रश्न सोध्ने अधिकार अध्यागमन न्यायधीशलाई मात्र हुन्छ।

तर सेतो छाला भएकाले हामी जस्तालाई यत्रो टाढा किन आएको? तिमीहरुकै देश राम्रो छ नि भनेर घुमाउरो पाराले तँ हाम्रो देशबाट निस्केर जा भन्छन्।

अब यो कुरालाई कतै पनि प्रमाणित गर्न नसक्ने र स्रोत साधनको अभाव वा अज्ञानताका कारण तुरुन्तै अदालतमा पुग्न भने सकिन्न। यसरी हामी जस्ता मान्छेले कदमकदममा दुर्ब्यवहारको सामना गर्नपर्छ।

तर, भाषाको समस्याका कारण कसैले त्यो सहन्छन् भने अर्कै कुरा हो। अझै कतिलाई त सेतो छालाभएका मान्छेले आमाचकारी गाली गरेकोमा पनि आनन्द लाग्छ, खैरेले भनेको भनेर।



अमेरिकामा अड्किएको नेपाली ज्यान 

अमेरिकाको विषयमा भ्रम पालेर बसेका नेपालीहरु ! 



म हिजोआज जुन अपार्टमेन्टमा बस्छु। त्यसको सँगैको अपार्टमेन्टमा अफ्रिकीमूल र तल्लो भागमा स्पेनिसमूलका मान्छे बस्छन्। सँगै बस्नेको बच्चाले हल्ला गरेर बस्न दिँदैनन्।

हामीले केही भन्यो भने माफी माग्छ तर हल्ला रोकिदैन। त्यस्तै हाम्रो तर्फबाट अलिकति पनि आवाज आयो भने तलको छिमेकीले हल्ला गर्यो भन्छ। शुक्रबार र शनिबार उसले कान फुट्ने गरि संगीत बजाए पनि हाम्रो कुरा टेर्दैन।

अब सचेत पाठकबर्ग आफै मूल्यांकन गर्नुस् त्यो हामीलाई घुमाउरो किसिमले हेपेको हो कि होइन? मेरो विचारमा उनीहरुले हेपेकै हो। तर, हामी हेपाई खाएर पनि सहने गर्छौ।

यसैबीच ग्राहकको दुर्ब्यवहारमा परेका उबर चालक खड्काको लागि सायन बेनिस्टर नामक महिलाले गोफण्डमीमार्फत संकलन गरेको रकम यो आलेख तयार पार्दासम्म करिब ७० हजार डलर जम्मा भएको छ र त्यसमा बेनिस्टरले आफ्नो तर्फबाट २० हजार डलर थपेर दिने घोषणा गरेकी छिन्।

यो रकम खड्काको कानूनी सहायता, घर भाडा, जीवनयापन लगायतका लागि खर्च गरिने छ। यो भन्दा पहिले उबर चालक खड्कालाई एक सय बीस डलर क्षतिपूर्ति दिने बताइएकोमा उबरको यो कदमप्रति असहमति जनाउँदै उनले रकम संकलन गरेकी हुन्।

संकलन भएको रकमलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्ने हो भने करिब डेढ कराेड हुन्छ। यदी पैसालाई मात्र हेर्ने हो भने खड्कालाई भाग्यमानी नै मान्नु पर्छ, कमसेकम दुर्ब्यवहार भएपछि उनले केही रकम त पाए।

यद्वपि यो घटना राम्रो हो भन्ने अर्थ नलागोस्। केही बर्ष पहिले न्युयोर्कमा भारतीय अभिनेता अनुपम खेरले नेपालीमूलका उबर चालक लाई ‘कान्छा’ भनेर सम्बोधन गरेको भिडियो भाइरल भएको थियो। त्यो पनि ‘ह्यारेसमेन्ट’ नै थियो तर त्यो घटना ले खासै चर्चा पाएन। सायद ती चालक खड्का जति भाग्यमानी थिएनन्।

हामी जस्ता नेपालीले पाइलापाइलामा हेपिनु र दुर्ब्यवहार सहनु पर्छ। आफ्नो देशमा तराईबाट आएर तरकारी बेच्नेलाई भारतीय भनेर हेप्नेले पनि त्यस्तै भारतीयमूलको मान्छेकोमा काम गर्दा हेपिनु पर्छ भलै उसले स्वीकार गरोस् वा नगरोस्।

पंक्तिकारको विचारमा यस्तो घटना कुनै नौलो होइन तर पहिलो पटक सञ्चार माध्यममा आएको कारण सबैले जानकारी पाएका हुन्। 

प्रकाशित मिति: : 2021-03-14 18:35:00

प्रतिकृया दिनुहोस्