स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पद सम्हालेको साढे २ महिना भएको छ। यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका त्रिपाठी गत पुस १० गतेदेखि कोरोना महामारीसँग जुध्ने नेपालको प्रयासलाई नेतृत्व गरिरहेका छन्। पछिल्ला दिनमा मन्त्रालयले गरेका गतिविधि, कोरोना नियन्त्रण प्रयास, खोप अभियानका चुनौतीलगायत विषयमा नागरिककर्मी गुणराज लुइँटेल र श्रीराम सुवेदीले शुक्रबार गरेको कुराकानी।
कोरोना महामारी नियन्त्रणका लागि प्रकाशको गतिमा काम गर्नुपर्ने समयमा मन्त्री हुनुभयो। अफ्नो कामको समीक्षा गर्दा कसरी गर्नुहुन्छ ?
मैले कार्यभार सम्हाल्दा स्वास्थ्य मन्त्रालयमा धेरै चुनौती थपिएका थिए। विभिन्न कारणले मन्त्रालयको साखमा पनि कमी आएको थियो। यो अवधिमा मैले ३ महत्वपूर्ण कामलाई प्राथमिकता दिएको छु। पहिला हो, भ्याक्सिन। दोस्रो, सरकारले ५, १०, १५ शड्ढयाका अस्पताल प्रत्येक स्थानीय तहमा बनाउने कार्यलाई सफलता पूर्वक अगाडि बढाउने र तेस्रो, कर्मचारी समायोजन। भ्याक्सिनको विषयमा खोप सुरुवात गर्ने दक्षिण एसियामै दोस्रो देश नेपाल बनेको छ। त्यो एक ढंगले सफलता पूर्वक अगाडि चलिरहेको छ। भ्याक्सिन प्राप्तिसारै कठिन हो। सिमित देशले उत्पादन गर्ने भएकाले यसको विश्वव्यापी माग छ। बनेका सबै खोप प्रयोग गर्न सकिन्न। तापक्रम र पूर्वाधारले गर्दा यसो गर्न सकिन्न। तर केही भ्याक्सिन अनुमति दिएर हामीले प्रयोग गरेका छौं। तिनलाई हामीले मान्यता दिएका छौं।
भ्याक्सिनको विषय स्वास्थ तथा व्यापारिक सामग्रीभन्दा पनि बढी राजनीतिक सामग्री (पोलिटकल कमाडोटी) बनेको छ। कर्मचारी समायोजनमा मन्त्रालयका कर्मचारी मर्कामा परेका छन्। त्यसलाई कसरी समाधन गर्ने भन्ने विषयमा प्राथमिकताका साथ काम भइरहेको छ।
सुरुदेखि नै महामारी नियन्त्रणमा नेपालको प्रयास अपुग भएको मानिन्छ। क्वारेन्टिनलगायत अन्य तयारीमा नेपाल चुकेको हो ?
त्यो होइन। क्वारेन्टिनलगायतका विषयमा स्थानीय तहले गरेको व्यवस्थापन अत्यन्त राम्रो रह्यो। मैले यो कुरा नजिकबाट किन नियालेको छु भने म त्यसबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए। कोभिड–१९ को सुरुवातदेखिनै नजिकबाट मैले हेरेको थिए। विदेशबाट ठूलो संख्यामा नेपाल फर्कने क्रममा चुनौती थियो। हाम्रो क्वारेन्टिनको व्यवस्था धेरै उन्नत नभए पनि समाजबाट आइसोलेट गर्ने (अलग राख्ने) काम त्यो क्वारेन्टिनले गर्यो, जसले संक्रमण घटाउन मद्दत गरेकै हो। समग्रमा खाली यो मन्त्रालयको मात्र कुरा होइन। जुन परिवर्तन भयो यो देशमा, हामी राज्य पुनःसंरचनाको नाममा भौगोलिक पुनःसरचना मात्र गर्यो। राज्यको पुनःसंरचना अहिलेसम्म पनि भएको छैन। त्यसमा म आफैं पनि दोषी छु। कुन जिल्ला, कुन क्षेत्र, कुन प्रदेशमा रहने भनेर आन्दोलन भयो, झगडा भयो, मान्छे सहिद भए, घाइते भए। तर राज्यको पुनःसंरचना जुन सही अर्थमा हुनुपर्ने हो त्यसमा कोही पनि प्रवेश गरेन। राज्यको बनावट विरासतको रूपमा ग्रहण गरेको अवस्था छ। त्यो आलोकमा हेर्दा महामारी व्यवस्थापन हुन सकेन भनेर चित्त दुखाउने ठाउँ भएन। यसमा संरचनागत त्रुटिहरूको भूमिका छ। जस्तो निजामती सेवामा हेर्दा प्रशासन समूहको हालीमुहाली छ।