शोभा अधिकारी
राजनीतिक नेतृत्वले मुलुकलाई नेतृत्व दिन सकेन भने सधैं अस्थिरता हुन्छ भन्ने पछिल्लो उदाहरण नेपाल बनेको छ। संसद्मा झन्डै दुईतिहाइ सदस्य संख्या हुँदा पनि त्यसलाई सत्तासीन कम्युनिस्ट पार्टीले जोगाउन सकेन। प्रधानमन्त्रीले संसद् विघटन गरेपछि उत्पन्न पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपा फुटको संघारमा पुगिसकेको थियो। सैद्धान्तिक धरातल एकताको आधार बनेको थियो भने सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिँदा पनि केही फरक पर्ने थिएन। कानुनी रूपमा नफुटे पनि व्यावहारिक रूपमा फुटिसकेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्चको फैसलाले विधिवत् बाटो फुकाइदियो। नेकपा एमाले र नेकपा माओवादी एकताअघिको पूर्ववत् अवस्थामा फर्किएका छन्। यसबाट सन्तुष्ट हुनेभन्दा नहुनेको संंख्या बढी छ। फैसलापछि दुई भएका पार्टी नै एक भएर संसद्को बाँकी कार्यकाल सरकार चलाउने आधार उनीहरूकै क्रियाकलापले समाप्त पारिदिएको छ।
यतिबेला संसद्को प्रतिपक्षमा रहेको कांग्रेसको भूमिकाको खोजी हुन थालेको छ। कम्युनिस्ट पार्टीबीच समीकरणको सम्भावना समाप्त भएकाले कांग्रेस र जनता समाजवादी पार्टीको महŒव पनि बढेको छ। यो महŒवलाई कांग्रेसले देश, जनता र लोकतन्त्रका पक्षमा उपयोग गर्न सक्नुपर्छ। कसैले फ्याँकेको सत्ता साझेदारीको हिस्सेदार मात्र बन्नुभन्दा आमनागरिकले प्रश्न नउठाउने र पार्टीको भविष्य पनि सुनिश्चित हुने सहज बाटो तय गर्नु कांग्रेसको जिम्मेवारी हुनुपर्छ। सत्ताका लागि मात्र सत्तामा जाने हो भने कांग्रेसका नाममा राजनीति गर्न चाहने भविष्यको पुस्तालाई समेत ठूलो चोट पुर्याउनेछ। नागरिकले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिए पनि परिस्थितिले छिटै सरकारमा लैजाने वातावरण बनाएको अर्थमा मात्र नलिएर लोकतन्त्र, पार्टी र मुलुकको उन्नत भविष्यको पक्षमा काम गर्ने सर्तमा सत्तामा जानुपर्छ।
सरकारमा जाने पार्टीले निर्णय गर्यो भने नेतृत्वको दाबीसहित ‘अर्लि इलेक्सन’ को सर्तमा सरकारमा जानुपर्छ। तर आउँदो निर्वाचनअघि नै पार्टीको महाधिवेशन गरेर नयाँ र ऊर्जाशील नेतृत्व चयन गर्ने हो भने त्यसले अबको निर्वाचनमा थपिने झन्डै ४० लाख नयाँ मतदाताको विश्वास जित्न सकिनेछ। अघिल्लो निर्वाचनमा टुटेको नागरिकसँगको सम्बन्ध फेरि जोडिनेछ। विगतमा रुस्ट बनेको नागरिक समाज र आम प्रजातन्त्रवादीले पनि कांग्रेसलाई यस्तै सुझाव र सल्लाह दिन थालेका छन्। जुन कांग्रेसका लागि उत्तम बाटो पनि हुनेछ।
कांग्रेसले पेसागत संघसंगठन र आम प्रजातन्त्रवादीको विश्वास पनि गुमाइसकेको अवस्था थियो। प्रजातन्त्रका पक्षमा वकालत गर्ने तर कांग्रेससँग टाढिएको बौैद्धिक जगत् पनि यतिबेला कांग्रेसबारे बोल्न थालेको छ। हिजोसम्म कम्युनिस्टहरूको पनि नेतृत्व लिँदै आएको कांग्रेस आज कम्युनिस्टको खेलौना बन्यो भन्ने आरोप पनि नेतृत्वले खेप्दै आएको थियो। त्यो आरोपको प्रतिवादका लागि पनि व्यवहारतः मुलुकको नेतृत्वदायी भूमिकाका लागि मार्गप्रशस्त गर्न महाधिवेशनको मिति तय गरेर नयाँ नेतृत्व स्थापित गर्न कांग्रेस अग्रसर हुनुपर्छ।