‘काम पाइएन डिग्री पास गरेर
भैंसी पालें गाउँतिरै झरेर
चिन्ता छैन केही
मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत पनि यही ।’
गायक पशुपति शर्मा सांगीतिक कार्यक्रमको सिलसिलामा कतार पुगेका थिए । उनले देखे, त्यहाँ आफ्ना छिमलका साथीहरु चर्को घाममा काम गरिरहेका छन् । रोगी बुवाआमा, कलकलाउँदो लालाबाला, वैंशालु श्रीमतीसँग बिछोडिएर पराइ भूमिमा कष्ट खेपिरहेका छन् ।
यसरी दिनरात जोतिएर उनीहरुले कति आर्जन गर्दा हुन् ? पशुपतिलाई जिज्ञासा जाग्यो । पसिना चुहाइरहेका नेपाली दाजुभाइले जवाफ फर्काए, ‘महिनाको २०–२५ हजार रुपैयाँ ।’पशुपति खिन्न भए । चर्को घाममा रापिएका नेपाली दाजुभाइको दुःखले उनलाई बिथोलिरह्यो । मनको उकुसमुकुसलाई उनले गीतमार्फत अभिव्यक्त गर्न चाहे ।
वैदेशिक रोजगारीको यो निर्मम पाटोलाई उनले विरही भाकाको गीतमा पोख्ने योजना बनाएँ । तर, नेपाल फर्किएपछि उनले ठट्यौली शैलीको तर सन्देशमूलक गीत बनाउने तयारी गरे । अन्ततः तयार भयो, ‘बुढा पनि छन् कुरा बुझ्दिने, ठूला भैंसी पाल्या छन् दूध दिने, मलाई बहराइन पनि यही, मलाई इजरायल पनि यही ।’
अहिले कति युवा आफ्नै बाँझो खेत जोतिरहेका छन् । नयाँ–नयाँ इलम गरिरहेका छन् । गाउँघरमै बसेर मनग्य आर्जन गरिरहेका छन् । जब–जब यी उद्यमशील युवाहरुको प्रसंग आउँछ, धेरैको मुखले स्वतःस्फूर्त यही गीत गुनगुनाउँछ, ‘मलाई अमेरिका यही ।’