‘कि आँटीले खान्छ कि ढाँटीले खान्छ’ भन्ने उखानजस्तै भयो– बर्दियाको बढैयालकी भीमा चन्दको जीवनमा। पिताको निधनपछि अभिभावकबिहीन भएको उनको परिवारमा भीमाको अठोटले दुःखलाई सुखमा बदलिदियो।
घरकी जेठी छोरीले उनले चुलोचौकोबाट बाहिर निस्किएर घरको अभिभावकत्व ग्रहण गर्नुपर्ने भयो जुन उनका लागि सकसको विषय थियो। घरको आर्थिक अवस्था पनि कमजोर थियो। जिम्मेवारी उनको काँधमा आइपर्यो।
५ बहिनी र आमाको लागि सबै कुरा उनले नै व्यहोर्नुपर्ने अवस्था थियो। के गर्ने, कर्सो गर्ने ? जागिर खोजौँ, कतै छैन। काम गरौँ, अत्तोपत्तो छैन।
त्यति नै बेला उनको दिमागमा क्लिक भयो, सिलाइकटाई सिक्ने, व्यवसाय गर्ने र स्वरोजगार बन्ने। उनले भनिन्न्,‘आम्दानीको स्रोत केही पनि थिएन। घरको आर्थिक अवस्था पनि त्यस्तै । 'जे पर्ला त्यही टर्ला' भनेर सिलाइकटाई सिक्ने अठोट गरेँ।’
सिक्ने चाहिँ कसरी ? सिलाइकटाई सिक्न जे आवश्यक थियो, त्यो उनीसँग थिएन। उनले ऋण निकालिन्, गाउँकै समूहबाट। आमाले छिमेकीबाट ऋण गरिदिएकी थिइन्।
नौ वर्षअघिको कुरा हो, पारिवारिक जिम्मेवारीका कारणले पढाइलाई चटक्कै माया पारेर उनी सिलाइकटाई सिक्न जान थालिन्। भीमाले सिलाइकटाईको ६ महिने आधारभूत कोर्ष पूरा गरिन्। पछि सीप विकासबाट 'ए लेवल' तालिम लिइन्।
सिलाइकटाई सिक्न बर्दियाबाट कैलालीसम्म पुगिन्। उनले टीकापुर पोलिटेक्निकबाट 'लेबल टु' पास गरेकी हुन्। त्यसको दुई वर्षमा प्रशिक्षक भइन्। 'प्रशिक्षकको प्रमाणपत्र पाउँदा खुशीको सीमा नै रहेन', उनले भनिन्।
‘बुबाको निधनले हाम्रो परिवार घायल थियो। त्योभन्दा ठूलो प्रभाव त मेरो जीवनमा परेको थियो, मैले आफ्नो जीवनको यात्रालाई ब्रेक लगाउनुपर्यो',. उनले भनिन्, 'तीन वर्षपछि मलाई सफलता मिल्यो ।’
प्रशिक्षक भएपछि २०६७ सालमा उनले आफ्नै सिलाइकटाई सेन्टर खोलिन्, बढैयातालमा।‘चन्द टेलर एण्ड टेलरिङ्ग सेन्टर' बढैयाल क्षेत्रको सबैभन्दा बढी चलेको 'टेलर' हो।
सुरुमा उनले बढैयाताल क्षेत्रमा महिलाहरुलाई सीप सिकाउन थालिन्। उनी बर्दियाकै सबैभन्दा व्यस्त प्रशिक्षकमध्येकी हुन्। तीन वर्षयता प्रमुख प्रशिक्षकको रुपमा उनी काम गर्दै आएकी छन्।
कुनै बेला सिलाइकटाई सिक्नसमेत आफूसँग पैसा नहुने उनी अहिले घण्टाका दरले पारिश्रमिक लिने गर्छिन् । बढैयातालमा मात्रै उनले ९० जनाभन्दा बढी महिलालाई सीप सिकाएकी छन्।
बर्दियाका अन्य स्थानीय तह र बाँके जिल्लामा समेत गरेर तीन–चार सय जनालाई आफूले सीप सिकाएको उनले बताइन्। तीमध्ये दर्जनौँ महिलाले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्।
‘मैले तालिम दिएर व्यवसाय गरेकाहरुको दैनिक फोन आउँछ। मैले यो सिलाएको छु मिस, मूल्य कति लिने होला ? मलाई यस्तो समस्या पर्यो, सिकाइदिनू। हजुरले कति लिने गर्नुभएको छ? यस्ता प्रश्न दैनिक आउँछ,’ बिएल नेपाली सेवासँग उनले भनिन्।
'जब आफूले सिकाएकाहरुबाट फोन आउँछ, त्यतिबेला एकदम खुशी लाग्छ। मैले राम्रो काम गरेको रहेछु भन्ने लाग्छ। त्यसले मलाई उत्साह र प्रेरणा दिन्छ। म धेरैका लागि हौसला बनेको छु। उहाँहरुको मेरो लागि प्रेरणाको स्रोत बन्नुभएको छ। त्यहीबेला आफूले अरुको लागि पनि राम्रो काम गरेको भान हुन्छ', उनले सुनाइन्।
एक वर्षयता कहिले बर्दिया त कहिले बाँके गर्दै प्रशिक्षकका रुपमा काम गर्दै आएकी छन्। यता बढैयातालमा व्यवसाय समेत चलिरहेको छ। उनलाई अहिले भ्याइनभ्याई छ।
'लकडाउन' खुलेसँगै बाँकेमा मात्रै तीन वटा क्षेत्रमा प्रशिक्षण दिनुपर्ने भएको त्यतै बस्न थालेकी छिन्। बर्दियामा रहेको व्यवसाय कर्मचारीले धानिरहेका छन्। जहाँ उनले विपन्न महिलालाई रोजगारी समेत प्रदान गरेकी छन्।
उनलाई सरकारी कार्यालय, गैरसरकारी संस्था तथा महिला सहकारीहरुबाट तालिमको माग बढी आउँछ।बिहान बाँकेको सीप विकास तालिम केन्द्रमा तालिम लिइरहेकी छन्। दिउँसो कोहलपुरमा सिलाइकटाईको आधारभूत तालिम प्रदान गरिरहेकी छन्। उनी अरु महिलालाई पनि सीप सिकी स्वरोजगार बन्न सुझाउँछिन्।
अहिले उनकै कमाइले पाँच जना बहिनीहरु विभिन्न तहमा पढिरहेका छन्। दुई जना बहिनी अहिले पनि नेपालगञ्जमा प्राविधिक शिक्षा पढ्छन्। उनीहरुको कोठा भाडादेखि पढाइ खर्च उनैले नै व्यहोर्ने गर्छिन्। मासिक ६० देखि ७० हजारसम्म कमाउँछिन्। सबै खर्च काटेर महिनामा २० देखि २५ हजार रुपैयाँ वचत हुने उनले सुनाइन्।
२९ वर्षीय चन्द अविवाहित हुन्। 'परिवारको जिम्मेवारीले बिहे पनि गर्न पाउनु भएन?' भन्ने प्रश्नमा उनले भनिन्, ‘कामको ओभरलोड छ। घरको सबै कुरा हेर्नुपर्छ, काम पनि नगरी हुन्न। बिहे गर्ने फुर्सद नै भएन। अझै पनि आफ्नो करिअरतिर केन्द्रित छु। विवाहको विषयमा सोचेकी छैन।’
मेरो भिमा मिस लाई सलाम छ।
यो समचार पढ्न पाउँदा मलाई साह्रै हर्ष लाग्यो अझेै प्रगति गरेको खवर सुन्न पाउँ कामना छ ।।।।