राष्ट्रिय प्राणी उद्यानमा बजेट दुरुपयोग : भवन निर्माणको बजेटबाट ल्यापटप र मोबाइल खरिद

भक्तपुरको सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको भवनको लागत बढाएर अन्यत्र खर्चिएको पाइएको छ । उद्यान भवन निर्माण सम्पन्न भइसकेपछि कन्टिजेन्सीका नाममा साढे पाँच लाख रुपैयाँ छुट्याएर मोबाइल, ल्यापटप र कार्यालय सामग्री किन्नुका साथै गाडी मर्मत, डिजेल, अतिथि सत्कार, सुपरभाइजर र बैठक भत्तामा खर्च गरिएको हो ।

६ करोड ६५ लाख लागतमा ०७३-७४ मा सुरु भएको भवनको निर्माणको काम ७६ कात्तिकमा सकिएको थियो । तर, प्राणी उद्यान, खरिद एकाइको गत ३ मंसिरको बैठकले कन्टिजेन्सीको रकम खर्चिन लागतसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँग अनुमति माग गरेर त्यसपछि खर्चिएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट देखिएको छ । 

‘भवन निर्माण सम्पन्न भइसकेपछि कन्टिजेन्सीको रकम खर्चिनु पूर्णतः त्रुटि हो, यसले बजेटको दुरुपयोग हुन्छ,’ पूर्वकार्यबाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीले भने, ‘यसरी मोबाइल, ल्यापटपमा खर्चिन हुँदैन ।’

उद्यानले भवन निर्माणपछि ७० हजारमा एउटा ल्यापटप र एक लाख २० हजार रुपैयाँमा दुइटा मोबाइल किनेको छ । त्यसैगरी, पाँचपटक बैठक बसेको देखाएर ७५ हजार रुपैयाँ खर्च गरिएको छ । पाँच सय लिटर डिजेलमा ४९ हजार रुपैयाँ खर्च गरिएको छ । तर, सार्वजनिक खरिदमा कन्टिजेन्सी रकम खर्चलाई व्यवस्थित गर्न बनेको निर्देशिका, २०७४ अनुसार ‘वर्क चार्ज, स्टाफ खर्च र सानातिना अन्य खर्चमा वर्गीकरण गरी सम्बन्धित निर्माण कार्य वा परामर्श सेवासँग सम्बन्धित काममा मात्र पारदर्शी ढंगबाट खर्च गरिनुपर्छ ।’

प्राणी उद्यानले गैरआवासीय भवन निर्माण, मेसिनरी तथा औजार खरिद र सडक तथा पुल निर्माणबापतको बजेटबाट २०७६ मा दुई लाख ९४ हजार रुपैयाँमा मोबाइल, ल्यापटप, कम्प्युटर र प्रिन्टर खरिद गरेको थियो । यो शीर्षकलाई पनि कन्टिजेन्सीमा देखाइएको छ ।

प्रकाशित मिति: : 2021-03-11 22:06:00

प्रतिकृया दिनुहोस्